हल्ट प्राइज एट आईओईको फाइनल सम्पन्न, यी हुन् प्रमुख तीन विजेता टिमहरु

Technology Khabar २१ मंसिर २०७७, आईतवार

हल्ट प्राइज एट आईओईको फाइनल सम्पन्न, यी हुन् प्रमुख तीन विजेता टिमहरु

काठमाडौं ।

यो वर्ष हल्ट प्राइज एट आईओईको विजेता टिम ‘क्युरियस वी’ भएको छ, जसले फोहोर व्यवस्थापनमा आधारित आईडीया प्रस्तुत गरेको थियो । डिस्पोजेबल चम्चा बनाएर वातावरणलाई सफा राख्ने आइडियामा यो आधारित थियो ।

साथै दोस्रो विजेता टिम भाइरस भिक्सेन र तेस्रो टिम चाहिं टिम बिन हुन सफल भएका छन् ।

अब यी तीन वटा नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रिय प्रतिष्पर्धामा भाग लिन पनि पाउनेछन्।

यस वर्ष नेपालमा कुल २५ टिममध्येबाट प्रमुख तीन बिजेता छानिएका हुन् ।

यी टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश विदेशका धेरै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत नै विशेष कार्यशालाहरू र सल्लाहकार कार्यक्रमहरू आयोजना गर्दै आएको थियो ।

कार्यक्रमको यस वर्षको विषय ‘फुड फर गुड’ अर्थात राम्रोका लागि खाना भन्ने राखिएको छ। सहभागी विद्यार्थीहरुले शनिवारको कार्यक्रममार्फत यहि विषयमा आफ्नो आइडिया प्रस्तुत गरेका थिए।

हल्ट प्राइजको ग्राण्ड फाइनलमा जजको रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य, उद्यमी तथा खाना र कृषि विज्ञ ल्युक स्मिथ, उद्यमी अरिफ नेजमी, डेलोइट (संसारको सबैभन्दा ठूलो व्यावसायिक सेवाहरू रणनीति परामर्शदाता साथै युएनको दीगो विकास लक्ष्यहरूको प्रमोटर) साम बेकर, युएन, विल एण्ड मेलिन्डा गेट्स इन्टिट्युट तथा एकदमै प्रभाव पार्न सकेका यसएम साइकत, टर्ल्टर भेन्चरको संस्थापक र सीइओ साराबान टहुरा टुरिन थिए ।

उनीहरूले त्रिभुवन विश्वविद्यालयका १३वटा इन्जीनियरीयङ कलेजबाट सेमिफाइल तथा वाइल्डकार्डमा छानिएका २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनबाट शीर्ष टिमहरूको छनोट गरेका हुन् ।

हल्ट प्राइज एट आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले कुल मिलाएर नेपाली १२ लाखका विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सकेको आयोजकले जनाएको छ।

५० भन्दा बढी मुलुकमा क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ। क्षेत्रिय प्रतिस्पर्धापछि अर्को कार्यक्रम लन्डनमा हुनेछ र त्यसपछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ। र सो कार्यक्रममार्फत १० लाख अमेरिकी डलर रकम पाउने टोली छनोट हुनेछ।

हल्टबिजनेस स्कुल, हल्टप्राइज संस्था र सयुक्त राष्ट्र संघसँग आबद्ध भएर हल्टप्राइजको स्थापना गरिएको हो । क्षमताशिल एवम् उर्जावान युवा युवतिहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ । यो प्रतिस्पर्धालाई विद्यार्थिहरुको नोवेल पुरस्कारको रुपमा पनि चिनिन्छ ।

यसमा हरेक वर्ष विश्वभरिबाट १२१ देशका २५ सय भन्दा बढी विश्वविद्यालयहरुबाट ३ लाख भन्दा धेरै विद्यार्थीले सहभागीता जनाउदै आएका छन।

easy care

प्रकाशित: २१ मंसिर २०७७, आईतवार