ट्राफिक लाईट नमान्नेलाई अनलाईन कक्षा लिदैं ट्राफिक प्रहरी

Technology Khabar १६ मंसिर २०७७, मंगलवार

ट्राफिक लाईट नमान्नेलाई अनलाईन कक्षा लिदैं ट्राफिक प्रहरी
Classic Tech
Nepal Telecom

के तपाईं ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला।

ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको सुरुवात गरेको छ।

लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालकहरू स्वयम् बग्गीखाना गएर आफैं ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिमार्फत निरन्तरता दिने भएको हो। कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजरसमेत गरी अनलाइनमार्फत सचेतना कक्षा सुरू गरिएको महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत् नै रहेकोले चालकहरूलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरूको लागि भर्चुअल क्लास लिने व्यवस्था गरेको बताए।

‘रातो बत्तीमा समेत गाडी हुइँक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जामसमेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएको हो,’ महाशाखा प्रमुख भट्टराईले भने।

लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो।

यस अघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिदै आएकोमा अब देखि ट्राफिक लाईटको बे-वास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।

हाल उपत्यकाका २५ स्थानमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ।

यस्तो प्रतिकुल अबस्थामा प्रबिधिको प्रयोग मार्फत सचेतना कक्षा संचालन बढि उपयोगी एव लाभदायिक हुने र यसले आम चालकहरुमा अनलाईन सचेतना कक्षा लिने प्रबृत्तिमा समेत बृद्धि हुने महाशाखाको अपेक्षा छ ।

यसरी हुनुस् ट्राफिक प्रहरीको अनलाइन कक्षामा सहभागी

चेतना कक्षा सम्बन्धि दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेज https://www.facebook.com/ktmtraffic मा प्रकाशित गरिने बताईएको ।

ट्राफिक कारबाहीमा परि सचेतना कक्षामा अनिबार्य समाबेश हुनुपर्ने चालकहरुले सोहि फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समय भन्दा अगावै समाबेश हुनुपर्ने छ । एक घण्टाको सचेतना कक्षामा समाबेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरि रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

थप जानकारीको लागी ट्राफिक प्रहरीको हटलाईन १०३ सम्पर्क गर्नसकिने महाशाखाले जनाएको छ।

TK Viber

प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

Loading...