ब्रोडब्यान्डको प्रयोग बढ्दोक्रममा, ७६ प्रतिशत जनता प्रयोगकर्ता

Technology Khabar ७ मंसिर २०७७, आईतवार

ब्रोडब्यान्डको प्रयोग बढ्दोक्रममा, ७६ प्रतिशत जनता प्रयोगकर्ता

काठमाडौं ।

देशको जनसङ्ख्याको ठूलो हिस्सा उच्च गतिको मानिने ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा रहेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भदौसम्म कुल जनसङ्ख्याको ७६।५८ प्रतिशत अर्थात् दुई करोड २८ लाख ८० हजार व्यक्तिले ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन् ।

कुल प्रयोगकर्तामध्ये धेरैले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने देखिएको छ ।

ई–भिडियोसहित एक करोड ६८ लाखले मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्कमा छ । यसमध्ये पनि थ्रिजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १२ लाख छ भने ५५ लाखले फोरजी प्रयोग गर्छन् । बाँकी ई–भिडियो प्रयोगकर्ता छन् ।

मोबाइलपछि फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या करिब ५८ लाख पुगेको छ । यसमध्ये पनि टेलिकमले ल्यान्ड लाइनमार्फत उपलब्ध गराइरहेको एडीएसएल प्रयोगकर्ताको सङ्ख्या नौ लाख १८ हजार छ ।

निजी इन्टरनेट सेवा प्रदायकका ग्राहक सङ्ख्या ४९ लाख पुगेका छन् ।

वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या सबैभन्दा कम अर्थात् दुई लाखभन्दा केही बढी छ । यसमध्ये रेडियो ९वाईफाई०मार्फत इन्टरनेट प्रयोग गर्ने एक लाख ३८ हजार छन् भने वाईम्याक्समार्फत इन्टरनेट प्रयोग गर्ने ९० हजार छन् ।

सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ब्रोडब्यान्ड प्रयोगकर्ता एक करोड १४ लाख छन् । एनसेलका ६५ लाख छन् भने निजी इन्टरनेट प्रदायकका करिब ४८ लाख प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमका करिब दुई लाख प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ ।

ब्रोडब्यान्ड नीतिले नेपालको सन्दर्भमा प्रतिसेकेन्ड न्यूनतम ५१२ केबी डाउनलोड र सहरी क्षेत्रमा प्रतिसेकेन्ड १० एमबी गतिको इन्टरनेटलाई ब्रोडब्यान्ट इन्टरनेटका रूपमा परिभाषित गरेको छ ।

देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने र इन्टरनेट पुर्याउने परियोजना सञ्चालन गरिरहेको छ ।

देशैभर १८ वटा प्याकेजमा छुट्याएर सुरु गरिएको उक्त परियोजनाअन्तर्गतका हरेक वडाका सामुदायिक संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क पुर्याउने र दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने काम भइरहेको छ । प्राधिकरणका अनुसार यस परियोजनाअन्तर्गत इन्टरनेट पुर्याउन तोकिएका १५ हजार ८४९ साइटमध्ये १० हजार ५५३ मा इन्टरनेट जडान सम्पन्न भएको छ । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: ७ मंसिर २०७७, आईतवार