याहूकी पूर्व सीईओ मरिसा मेयर टेक वर्ल्डमा फर्किईन्, ल्याइन् मोबाइल एप

Technology Khabar ५ मंसिर २०७७, शुक्रबार

याहूकी पूर्व सीईओ मरिसा मेयर टेक वर्ल्डमा फर्किईन्, ल्याइन् मोबाइल एप

काठमाडौं ।

याहूकी पूर्व सीईओ तथा गूगलकी २०औं कर्मचारी मरिसा मेयरले एउटा एप सार्वजनिक गरेकी छन् । सनशाइन कन्ट्याक्ट्स नामक यो एप आईओएस डिभाइसका लागि तयार पारिएको हो।

सनशाइन कन्ट्याक्ट्सका साथ पुनः एक पटक मरिसा मेयरको टेक वर्ल्डमा फर्किएकी छिन् । याहू छोडेपछि उनी लुमी ल्याब्स नामक आफ्नै एउटा स्टार्टअप कम्पनीमा काम गरिरहेकी थिइन् ।

लुमी ल्याबको नाम परिवर्तन गरेर हाल सनशाइन राखिएको छ । मरिसा मेयर प्रविधि विश्वकै एक ठूली हस्ती मानिन्छिन् ।

याहूको सीईओका अलावा उनको योगदान गूगलमा समेत निकै रहेको छ । गूगल सर्च इन्जिन डिजाइन गर्नेमा मरिसा मेयरको धेरै योगदान रहेको छ ।

सन् २०१७ मा मरिसा मेयरले याहू छोडेकी थिइन् । त्यसपछि उनले आफ्नै प्रोजेक्टमा काम थालिन् ।

मरिसा मेयरले सुरु गरेको सनशाइन स्टार्टअपले नै सनशाइन कन्ट्याक्ट एप सार्वजनिक गरेको हो । यो उनको पहिलो अफिसियल प्रडक्ट हो ।

वायर्डसँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘यो अचम्म लाग्दो छ कि हामीसँग सेल्फ ड्राइभिङ कार तथा ग्लोबल फेसियल रिकग्निसन हुनसक्छ । तर हामी आफ्नो कन्ट्याक्टबाट डुप्लिकेटहरु भने हटाउन सक्दैनौं ।’

मरिसा मेयरले जुन एप सार्वजनिक गरेकी छन्, त्यसले मोबाइल फोनमा रहेका कन्ट्याक्टलाई अर्गनाइज गर्ने उद्देश्यले ल्याईएको हो । प्राइभेसीको विषयलाई लिएर दाबी गरिएको छ कि कम्पनीले कुनै पनि मूल्यमा प्रयोगकर्ताको डाटा बिक्री गरेर व्यवसाय गर्ने छैन ।

यो एपको सहयोगमा प्रयोगकर्ताले आफ्नो फोनमा रहेका कन्ट्याक्टहरुलाई राम्रोसँग व्यवस्थित गर्न सक्दछन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सहयोगमा एपले नै उक्त काम गरिदिनेछ ।

यो एपले कन्ट्याक्ट इन्फर्मेसनमा ईमेल आईडी थप गर्ने, नामको पछिल्लो वा कुनै भाग छुटेको छ भने त्यसलाई पुरा गर्ने, कार्यालय तथा व्यक्तिगत नम्बरलाई अलग गर्ने आदि लगायतका आधारभूत काम गर्नेछ ।

यसबाहेक यो एपको सहयोगमा तपाईं व्यक्तिगत वा प्रोफेसनल नम्बरको कार्ड बनाएर अन्य व्यक्तिसँग शेयर गर्न सक्नुहुनेछ । जसमा फोन नम्बर, ईमेल तथा अन्य जानकारीहरु उल्लेख गर्न सकिने छ ।

आईफोनका कन्ट्याक्ट्सबाट डुप्लिकेट कन्ट्याक्टलाई यसले आफैं अलग बनाएर डिलिट गरिदिनेछ । यसबाहेक अन्य स्रोतबाट यसले कन्ट्याक्ट डिटेल समेत ‘फेच’ गर्न सक्छ ।

हालका लागि यो एप इन्भाइट बेसिकमा राखिएको छ र यो अमेरिकामा मात्र उपलब्ध छ । निःशुल्क रुपमा उपलब्ध यो एप आउँदो समयमा सबैका लागि सार्वजनिक गरिने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार