इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक न्यून प्रभावित क्षेत्रमा, अधिकतम ५ करोड रुपैयाँ कर्जा पाउने

Technology Khabar ५ मंसिर २०७७, शुक्रबार

इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक न्यून प्रभावित क्षेत्रमा, अधिकतम ५ करोड रुपैयाँ कर्जा पाउने

काठमाडौं ।

दूरसञ्चार सेवा तथा इकमर्श सेवा क्षेत्र कोभिड १९ बाट प्रभावित क्षेत्र तथा व्यवसायहरु मध्ये न्यून प्रभावित क्षेत्रमा परेका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदले पास गरेको व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गर्दै सरकारले विभिन्न उद्योग व्यवसायमा परेको असरको आधारमा वर्गिकरण गरेको छ, जसमा दूरसञ्चार सेवा तथा इकमर्श सेवा क्षेत्रलाई न्यून प्रभावित व्यवसायहरुमा समावेश गरेको हो ।

यसअघि नै बजेटमार्फत कोभिड-१९ बाट प्रभावित भएका उद्योग व्यवसायलाई नियमित गर्न र संचालन गर्नका लागि सहुलियत दरमा ऋण दिने नीतिअन्तरगत हाल सरकारले नयाँ कार्यबिधि जारी गरेको हो ।

कार्यबिधिले अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित क्षेत्र गरि तीन वर्गमा उद्योग व्यवसायहरुलाई वर्गिकरण गरेको छ। जसमा इन्टरनेट, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु तथा अनलाईन (इ-कमर्स)मा संलग्न व्यवसायसहित अन्य व्यवसायहरुलाई समेत न्यून प्रभावित क्षेत्रमा समावेश गरिएको हो ।

कार्यविधिले वर्गिकरण गरेको आधारमा ती प्रभावित क्षेत्रका उद्योग व्यवसायले बैंक तथा वित्तीय संस्थाहरुबाट शोधभर्ना हुने गरि सहुलियत दरमा ऋण प्राप्त गर्न सक्नेछन् ।

व्यवसायलाई निरन्तरता दिन र संचालन गर्नका लागि सोहि कार्यविधि अन्तरगत शोधभर्ना रकमको लागि ५० अर्ब रुपैयाँको सरकारले व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रभाव शोधभर्ना खाता खोल्नेछ ।

सो कार्यविधिअन्तरगत न्यून प्रभावित क्षेत्रमा परेका इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप(व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम पाँच करोड रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

सो अनुसार प्राप्त कर्जा रकममा पहिलो वर्ष ५ प्रतिशत तथा दोस्रो वर्षका लागि ६ प्रतिशत ब्याजदर तोकिएको छ भने त्यस्तो कर्जाको अवधि अधिकतम २ वर्ष हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले थप २ प्रतिशत ब्याज लिई थप २ वर्षको अवधिसम्म कर्जा दिनसक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

त्यस्तो कर्जा लिनका लागि उद्योग व्यवसायीक संस्थाहरुले तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ।

Global Bank
easy care

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार

ताजा समाचार