चालु आवको पहिलो त्रैमासमा टेलिकमको नाफा १ अर्बले घट्यो, ५० करोड रुपैयाँ आम्दानी गुमायो

Technology Khabar २ मंसिर २०७७, मंगलवार

चालु आवको पहिलो त्रैमासमा टेलिकमको नाफा १ अर्बले घट्यो, ५० करोड रुपैयाँ आम्दानी गुमायो
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमास करिब ५० करोड रुपैयाँ आम्दानी गुमाएको भने नाफामा १ अर्ब रुपैयाँको कमी आएको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि असोज मसान्तसम्मको वित्तीय बिबरणअनुसार कम्पनीले कुल आम्दानीमा एकै त्रैमासमा ५० करोड रुपैयाँ गुमाएको हो ।

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ग्राहकहरुबाट हुने आम्दानी प्रमुखरुपमा घटेको देखिएको छ भने अन्य आम्दानीमा समेत कमी आएको छ ।

कम्पनीको आम्दानीमा कमी आएसँगै नाफामा पनि ठूलो गिरावट देखिएको छ । जसअनुसार कम्पनीले १ अर्ब रुपैयाँ नाफा घटेको जानकारी दिएको छ ।

कम्पनीले पहिलो त्रैमासमा १० अर्ब १० करोड ४४ लाख ७५ हजार २६७ रुपैयाँ आम्दानी गरेको छ । जसअन्तरगत कम्पनीले ग्राहकबाट हुने आम्दानी ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ आर्जन गरेको छ भने अन्य आम्दानीमा १ अर्ब ४६ करोड ९१ लाख ३५ हजार २२८ रुपैयाँ कमाएको छ ।

यस्तो आम्दानी अघिल्लो आवको सोहि अवधिको तुलनामा ४९ करोड ९४ लाख ४८ हजार ५७५ रुपैयाँले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले कुल १० अर्ब ६० करोड ३९ लाख २३ हजार ८४३ रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ९ अर्ब ४ करोड ८ लाख ४६ हजार ७९० रुपैयाँ ग्राहकबाट आम्दानी गरेकोमा चालु आवको पहिलो त्रैमासमा भने केबल ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ मात्र कमाएको छ ।

कम्पनीको आम्दानीमा कमी आएसँगै टेलिकमको त्रैमासिक नाफामा समेत गिरावट देखिएको छ । सार्वजनिक बिबरणअनुसार टेलिकमले चालु आवको पहिलो त्रैमासिकमा खुद नाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३८१ रुपैयाँ मात्र रहेको छ जबकि यस्तो नाफा अघिल्लो वर्षको सोहि अवधिमा १ अर्ब ५४ करोड ६७ लाख ७९ हजार २२१ रुपैयाँ रहेको थियो । यस आधारमा हेर्दा कम्पनीको चालु आवको पहिलो त्रैमासमा १ अर्ब २ करोड ९० लाख ९ हजार ८४० नाफा कम भएको छ ।

कम्पनीको आम्दानी र नाफामा कमी आएसँगै टेलिकमले प्रशासकिय खर्च भने घटाउन सफल भएको छ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीको प्रशासकिय खर्च २४ करोड ९६ लाख ३१ हजार ३४५ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा यस्तो खर्च ३७ करोड १५ लाख ५९ हजार ८०५ रुपैयाँ रहेको थियो ।

टेलिकमले प्रशासकिय खर्च घटाउन सकेपनि संचालन तथा मर्मत खर्च, बिक्री तथा बजारीकरण खर्चमा भने वृद्धि भएको देखिएको छ ।

easy care

प्रकाशित: २ मंसिर २०७७, मंगलवार

ताजा समाचार