कालापानी क्षेत्रमा नेपाल टेलिकमको जीएसएम सेवाको लागि टावर निर्माण हुँदै

Technology Khabar २७ कार्तिक २०७७, बिहीबार

कालापानी क्षेत्रमा नेपाल टेलिकमको जीएसएम सेवाको लागि टावर निर्माण हुँदै
सांकेतिक तस्बिर

काठमाडौं ।

कालापानी क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यले नेपाल टेलिकमले जीएसएम (नमस्ते) को टावर निर्माण सुरु गरेको छ ।

सीडीएमए (स्काइ) टावर मात्रै सञ्चालनमा रहेको व्यास गाउँपालिका–१, छाँङरु स्वास्थ्यचौकी भवननजिकै टेलिकमले टावर निर्माणका लागि जग खन्ने काम सुरु गरेको हो । टावर निर्माणका लागि १८० क्विन्टलभन्दा बढी टेलिकमको टावर तथा सामान ढुवानी भइरहेको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा टेलिकमका लागि दुईवटा भवन निर्माण गरिएको छ । हेलिकोप्टरमार्फत टावरको सामान ढुवानी सुरु भएपछि टावरका लागि जग खन्ने काम सुरु भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए।

व्यासमा बाह्रैमास बस्नेगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि सञ्चारको आवश्यकता झनै बढेको छ । गृह मन्त्रालयले व्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर निर्माण पनि सुरु गरिएको बताइएको छ ।

नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीसम्म यसको पहुँच पुग्ने छ ।

कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर राखिन लागेको टेलिकमले जनाएको छ ।

यसअघि पनि व्यासको छाँङरुमा रहेको सीडीएमए टावरले छियालेक, बुदी, गव्र्याङ्गका नागरिकलाई सहज रूपमा नेपाली फोनको सुविधा पुगेको थियो ।

हिमपात हुनुअघि नै टावर निर्माण गरेर सञ्चालन गर्ने तयारी रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

जीएसएम बीटीएससँगै सशस्त्र प्रहरीको भीएचएफ सञ्चार सेट पनि जडान गर्ने तयारी भएको छ । सशस्त्र प्रहरीलाई खबर आदानप्रदान तथा सञ्चार सम्पर्क गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार सम्पर्क जोडिन लागेको हो । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार

ताजा समाचार