ह्वावेले स्मार्टफोन ब्राण्ड अनर ब्राण्ड १८ खर्ब ८ अर्बमा बिक्री गर्दै

Technology Khabar २६ कार्तिक २०७७, बुधबार

ह्वावेले स्मार्टफोन ब्राण्ड अनर ब्राण्ड १८ खर्ब ८ अर्बमा बिक्री गर्दै
सन् २०१९ जुलाईमा नेपालमा सार्वजनिक भएको अनर ८एस स्मार्टफोन। फाइल

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले स्मार्टफोन ब्राण्ड अनर बिक्री गर्ने भएको छ। आफ्नो सहायक फोन उत्पादन युनिट अनरलाई कम्पनीले १५.२ अर्ब अमेरिकी डलरमा सेन्जेन सरकार, डिजिटल चाइनासहितलाई बेच्न लागेको हो।

यूआनसँगको हालको विनिमय दर अनुसार ह्वावेले करिब १८ खर्ब आठ अर्ब रुपैयाँमा अनर बिक्री गर्न लागेको हो।

अमेरिकाले ह्वावेलाई लगाएको प्रतिबन्धका कारणले गर्दा कम्पनी समस्यामा रहेको छ । ह्वावे विश्व स्मार्टफोन बजारमा दोस्रो ठूलो कम्पनी हो । साथै कम्पनीले हाइइन्ड मोबाइल ह्यान्डसेट उत्पादनमा ध्यान केन्द्रित गर्ने र कर्पोरेट क्षेत्रको ब्यवसायमा जान लागेपछि अनर बिक्री गर्न लागेको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

यसका साथै अमेरिकामा नयाँ राष्ट्रपति आएसँगै सेक्यूरिटी र प्रतिबन्धको बारेमा सहज हुने झिनो आशा समेत गरेको छ ।

गत वर्षबाट अमेरिकाले राष्ट्रिय सुरक्षामा जोखिम पर्ने भन्दै आफ्ना कम्पनीहरुलाई ह्वावेसँग व्यापार व्यवसाय गर्न रोक लगाएको थियो। तर, ह्वावेले अमेरिकी आरोप बारम्बार अस्वीकार गर्दै आएको छ।

यो बिक्री नगद कारोबार हुनेछ र यसमा अनरको ब्राण्ड अनुसन्धान तथा विकास क्षमता आपूर्ति श्रृंखला व्यवस्थापन लगायतका सबै सम्पत्ति बिक्री हुनेछ ।

बिक्रीपछि अनरको मुख्य वितरक डिजिटल चाइना ग्रुप कम्पनी लिमिटेड र अनर टर्मिनल कम्पनी लिमिटेडको समान १५ प्रतिशत सेयर स्वामित्व रहने बताइएको छ। ह्वावेको पूर्ण स्वामित्व रहेको अनर टर्मिनल गत अप्रिलमा मात्रै संलग्न भएको थियो।

डिजिटल चाइनाले ह्वावेलाई क्लाउड कम्प्युटिङ, बैंक कर्जा प्रवाहमा सहकार्य गर्दै आएको छ। सेन्जेन सरकारको सहयोग रहेका करिब तीन लगानीकर्ता फर्महरुको १० देखि १५ प्रतिशत स्वामित्व पनि रहने बताइएको छ।

बिक्रीसँगै अनरले आफ्न सबै कामदारहरुलाई राख्नेछ र आगामी २ वर्षभित्र पब्लिकमा जाने योजना लिनेछ । अनरले गत जुलाइ सेप्टेम्बरमा ५१ करोडभन्दा बढी थान स्मार्टफोन सिपिङ गरेको थियो।

easy care

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार