सेवा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई समाधान गर्नसक्ने ससक्त नेतृत्व आवश्यक

Technology Khabar २५ कार्तिक २०७७, मंगलवार

सेवा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई समाधान गर्नसक्ने ससक्त नेतृत्व आवश्यक
Classic Tech
Nepal Telecom

सेवा क्षेत्रमा कार्यरत व्यवसायी तथा उद्यमीहरुले सरकारी नीति नियमले गर्दा सेवा क्षेत्र समस्यामा रहेको बताएका छन्।

नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ तथा टिमले आयोजना गरेको भर्चुअल संवाद कार्यक्रममा सेवा क्षेत्रमा आबद्ध व्यवसायीहरुले आगामी नेतृत्व सेवा क्षेत्रलाई ससक्तरुपमा अगाडि बढाउने किसिमले चयन हुनुपर्ने बताए ।

उनीहरुले अहिलेको सरकारी नीति नियमहरु सेवाक्षेत्र मैत्री हुन नसकेको भन्दै कोभिड १९ को महामारीले सेवा क्षेत्रलाई सबैभन्दा धेरै असर परेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै नेपाल फ्रेट फरवार्ड एसोसिएसनका पूर्व अध्यक्ष राजन शर्माले अहिले कानूनी झमेलाहरु अधिक रहेको र कामगर्न कठिन भएको बताए । उनले स्पष्ट कानून बनाउने गरि महासंघ सक्रिय हुनुपर्ने भन्दै नयाँ नेतृत्वले त्यसमा भूमिका खेल्नुपर्ने बताए ।

नेपाल श्रमिक आपूर्ति संघका अध्यक्ष रामेश्वर साहले कोभिड १९ ले गर्दा श्रम गुमाउनेहरुको संख्या ठूलो रहेको भन्दै वैदेशिक रोजगारीबाट नेपाल फर्किने श्रमीकहरुलाई कसरी रोजगारी दिने चुनौती रहेको बताए । उनले नेपाल फर्किने श्रमिकहरुलाई सेवा क्षेत्रमा आकर्षित गरेर रोजगारी बढाउन सकिने भन्दै श्रम यूनियनहरु र सरकारी निकायहरुले चुनौती सिर्जना गरेको आरोप लगाए ।

‘अहिलेको अवस्थामा नेपाली उत्पादन र सेवाले बाहिरी विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैन्, श्रमिक यूनियन र कानूनी व्यवस्थाले समस्या दिएको छ,’ साहले भने ।

त्यसैगरि नाट्टाका अध्यक्ष अच्यूत गुरागाईँले पर्यटन क्षेत्रमा पनि समस्या रहेको भन्दै नीति नियम संसोधन गरिनुपर्ने बताए । उनले निजी क्षेत्रको आवाज ससक्त हुन नसकेको भन्दै घरेलु पर्यटनलाई बढावा दिन महासंघ लाग्नुपर्ने उल्लेख गरे । गुरागाईँले अझैपनि पर्यटन क्षेत्रले बैंकहरुबाट सहुलियत नपाएको भन्दै त्यसमा महासंघले सहजिकरण गर्नुपर्ने जानकारी दिए ।

नेपाल तालिम व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले दक्ष जनशक्ति उत्पादनको लागि तालिम आवश्यक पर्ने तर त्यसतर्फ कसैको ध्यान जान नसकेको उल्लेख गरे । उनले वैदेशिक रोजगारमा जाने कामदारलाई समेत तालिम दिएर दक्ष बनाउन सके उचित हुने र यसले कामदारलाई समेत सहयोग पुग्ने बताए ।

क्यान फेडेरेशनका अध्यक्ष नवराज कुँवरले कोभिड १९ महामारीले सूचना प्रविधिको क्षेत्रमा धेरै अवसरहरु सिर्जना गरेको तर त्यसअनुसार कार्यान्वयनको अवस्था भने कमजोर रहेको बताए । उनले महासंघले समेत सूचना प्रविधिलाई महत्व नदिएको भन्दै आगामी नेतृत्वले त्यसमा ध्यान दिनुपर्ने धारणा राखे ।

संवाद कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैरेले वैदेशिक रोजगारीले भित्र्याएको रेमिट्यान्सले नै अर्थतन्त्र चलायमान भएपनि सम्मान भने नपाएको गुनासो गरे । आगामी दिनमा विदेश कामगर्न जानेहरुलाई दक्ष बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले विदेशबाट सिप लिएर फर्किएका नेपालीहरुलाई स्वदेशमा नै रोजगारी दिने वातावरण बनाउन महासंघको भुमिका महत्वपूर्ण हुने र त्यसको लागि नयाँ नेतृत्वले काम गर्नुपर्ने सुझाब दिए ।

छलफलमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्माले कोभिड १९ ले सबैभन्दा धेरै सिनेमा र सिनेमा हलहरुको व्यवसाय प्रभावित भएको तर त्यसमा नेतृत्वले चासो नदिएको गुनासो गरे । उनले सिनेमा क्षेत्रलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेपाल कुरियर व्यापार संघका अध्यक्ष गोबिन्द ढुंगेलले कुरियर सेवा सबैको लागि दैनिक आवश्यकता भएपनि समस्याहरु निकै रहेको बताए । अहिलेसम्म सरकारले कुनै सहयोग नगरेको र नीतिहरु समेत स्पष्ट नभएको उल्लेख गरे ।

नेपाल ल्याण्ड एण्ड हाउजिंग एसोसिएसनका अध्यक्ष मिनमान श्रेष्ठले निर्माणको क्षेत्रमा दक्ष जनशक्ति नभएको भन्दै लाखौं रोजगारी सिर्जना गर्दापनि सरकारले सहयोग नगरेको बताए । उनले आगामी नेतृत्व ससक्त भएमात्र समस्या समाधान गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै वस्तुगत तर्फका उम्मेदवार अञ्जन श्रेष्ठले पुराना कमजोरीहरुलाई हटाएर निजी क्षेत्रलाई ससक्त बनाउन नै आफ्नो उम्मेदवारी दिएको भन्दै वस्तुगत क्षेत्रका व्यवसायहरुको समस्या समाधानमा पहल गर्ने बताए ।

‘अहिले नीतिगत धेरै समस्याहरु छन्, त्यसललाई चिर्न र सहजरुपमा व्यवसाय गर्न ससक्तरुपमा अगाडि बढ्नुपर्दछ यसको लागि सबैको सहयोग आवश्यक पर्दछ,’ उनले भने ।

अहिलेको महामारीपछि व्यवसायीहरु समस्यामा रहेको भन्दै त्यसको लागि समेत महासंघले पहल र सहयोग गर्नुपर्ने स्पष्ट पारे ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफ्नो नेतृत्वले समस्या समाधान गर्ने मात्र नभई दिर्घकालिनरुपमा नै भिजन तयार गर्ने बताए ।

‘यसको लागि हामी सबै अर्थशास्त्रीहरु, विज्ञहरु, उद्योगी व्यवसायीहरुसँग छलफल गरिरहेका छौं, हरेक क्षेत्रलाई समेटेर समस्याहरु समाधान गर्दै सहजिकरण गर्ने छौं,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

कार्यक्रममा अन्य व्यवसायीहरुले समेत सेवा क्षेत्रलाई सहज बनाउनसके थप रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिन सकिने बताएका थिए ।

TK Viber

प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार

Comments are closed.

Loading...