कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट प्रयोग

Technology Khabar २५ कार्तिक २०७७, मंगलवार

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट प्रयोग
फाइल
Classic Tech

मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट प्रयोग गर्दै आएको छ ।

अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबोट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको छ ।

कोरोना सङ्क्रमितसँग डाक्टर, नर्स लगायतका अन्य व्यक्तिको सम्पर्क कम होस् भन्नका लागि नगरपालिकाले नगर अस्पतालमा नर्सिङ रोबोट प्रयोगमा ल्याएको हो । अस्पतालले नर्सिङ रोबर्ट सञ्चालनमा ल्याएसँगै डाक्टर, नर्स र अस्पतालमा सेवा लिन आउने व्यक्तिले सुरक्षित महसुस गरेका छन् ।

सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधि लगायतका वस्तु बाहिर ढोकैमा राख्ने र निर्देशन अनुसार रोबोटले ढोकादेखि बिरामीको बेडसम्म पुर्याउने गरेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा नर्सिङ रोबोटको प्रयोगले सङ्क्रमितलाई सामान पुर्याउन र औषधि प्रयोग गर्न सहज भएको बताए । रोबोटमार्फत सेवा दिने यो नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ ।

उनले भने, “नेपालकै इन्जिनियरले बनाएको नर्सिङ रोबर्टको प्रयोगले अस्पतालमा स्वास्थ्यकर्मीलाई सहयोग पुगेको छ, रोबर्टको प्रयोगले सङ्क्रमितको उपचारमा सारथि बन्दै गएको छ ।” आगामी दिनमा रोबर्टको प्रयोगलाई थप प्रभावकारी बनाउने अस्पतालले तयारी गरेको छ ।

नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब १५ लाख रुपियाँ लागत परेको जनाइएको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका प्रशासन शाखा प्रमुख रुपेश श्रेष्ठले रोबोट सञ्चालनमा ल्याइएपछि औषधि र खाना लगायतका सामग्री पुर्याउन सहज भएको बताए ।

उनका अनुसार कोरोनाका सङ्क्रमितसँग डाक्टर, नर्सको प्रत्यक्ष सम्पर्क हुनबाट नर्सिङ रोबर्टले बचाएको छ । रोबर्ट सञ्चालनमा थप प्रभावकारी बनाउने गरी अस्पतालले काम गरिरहेको उनले बताए । आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार

Loading...