यी हुन् स्मार्टफोन सुरक्षित गर्ने मुख्य ६ उपायहरु, के तपाईँले ध्यान दिनुभएको छ ?

Technology Khabar २१ कार्तिक २०७७, शुक्रबार

यी हुन् स्मार्टफोन सुरक्षित गर्ने मुख्य ६ उपायहरु, के तपाईँले ध्यान दिनुभएको छ ?

काठमाडौं ।

स्मार्टफोन अहिले सबैको हात-हातमा उपलब्ध रहेको छ अझ लकडाउनपछि घरबाटै काम गर्न होस् वा अनलाइन अध्ययन गर्नको लागि यो दैनिक आवश्यकता नै भएको छ।

एन्ड्रोइड मोबाइल फोनको सस्तो मूल्यका कारण आम प्रयोगकर्तामाझ स्मार्टफोन लोकप्रिय बनेको हो । एन्ड्रोइडमा डाटा चोरि हुने वा ह्याकरले आक्रमण गर्ने सम्भावना भने त्यतिकै प्रबल छ ।

त्यसैले हामी तपाईँलाई यहाँ एन्ड्रोइड मोबाइल फोन सुरक्षित गर्ने उपायको बारेमा जानकारी दिँदैछौं –

१ स्क्रिन लकको सुरक्षा

मोबाइल फोन सुरक्षित गर्न सर्वप्रथम सुरक्षित पासवर्ड राख्नु अत्यन्त जरुरी छ । धेरैजसो प्रयोगकर्ताले पासवर्डमा १२३४ अथवा ०००० जस्ता सहजै अनुमान गर्न सकिने पासवर्ड राख्ने गरेको पाइन्छ । अहिले बजारमा आएका स्मार्ट फोनमा फिङ्गर प्रिन्ट स्क्यानर फिचर रहने भएकाले यो फिचर प्रयोग गरेर आफ्नो स्मार्टफोनलाई अझ सुरक्षित बनाउन सकिन्छ ।

२ फेस लक

अहिलेका मोबाइल फोनमा लोकप्रिय र सुरक्षित फिचरमध्ये फेस लक पनि एउटा हो । यदि मोबाइलमा यो फिचर छैन भने पनि चिन्ता नगर्दा हुन्छ । गूगल प्ले स्टोरबाट फेस लक एप डाउनलोड गरेर आफ्नो स्मार्ट फोनलाई सुरक्षित गर्न सकिन्छ । यो फिचर प्रयोग गरेमा स्मार्टफोन अन्य अनावश्यक मानिसहरुले खोल्नै सक्दैनन् ।

३ प्ले स्टोरबाट मात्र एप डाउनलोड

कतिपय एन्ड्रोइड एप गूगलको आधिकारिक एप स्टोर ‘प्ले स्टोर’ मा नपाईन सक्छन् र यस्तोमा प्रयोगकर्ताले अन्य वेबसाइट, ‘थर्ड पार्टी’ बाट एप डाउनलोड गर्ने गरेको पाइन्छ । यसरी अन्य स्थानबाट एप डाउनलोड गर्दा स्मार्टफोन जोखिममा पर्नसक्छ । यसरी ‘थर्ड पार्टी’ बाट डाउनलोड भएका एपमा मालवेयर, ट्रोजन वा कि लगरहरू तपाईंको मोबाइलमा प्रवेश गरेर व्यक्तिगत जानकारी चोर्न सक्छन् । त्यसैले यस्तो जोखिमबाट बच्न आधिकारिक स्टोरहरुमात्र प्रयोग गर्नुहोस् ।

४ बिर्सेर पनि मोबाइलमा पासवर्ड सेभ नगर्नु

मोबाइलमा हामी प्रायः बैङ्क खाताका जानकारी तथा पासवर्ड, ईमेल वा जीमेल जस्ता विभिन्न एकाउन्टका पासवर्ड सेभ गर्ने गछौँ । आफ्नै मोबाइल र आफैँले मात्र चलाउने त हो भनेर त्यस्ता सबै एकाउन्ट चलाउने बेलामा पटक पटक पासवर्ड हानिरहनु पर्ने झञ्झटबाट मुक्त हुन ती सबै पासवर्ड सेभ गरिरहेका हुन्छौँ । यसरी मोबाइलमा पासवर्ड सेभ गर्दा मोबाइल ब्राउजर र एपमा समस्या आएमा वा ह्याकरले त्यो एप वा साइट आफ्नो नियन्त्रणमा लिएमा तपाईंको सबै पासवर्ड चोरिन सक्छ । यसका साथै अन्य कसैले तपाईँको मोबाइल प्रयोग गर्ने अवस्था भएको खण्डमा पनि त्यस्ता जानकारी लीक हुन सक्छ ।त्यसैले मोबाइलमा पासवर्ड सेभ नगरेकै राम्रो ।

५ मोबाइल फोनमा एन्टीभाइरस राख्ने

कम्प्युटरमा जस्तै मोबाइलमा पनि भाइरसलगायतका सम्भावित हमलाबाट बच्नका लागि एन्टीभाइरस राख्न सकिन्छ । गूगल प्ले स्टोरमा निःशुल्क वा सशुल्क दर्जनौं मोबाइल एन्टीभाइरस पाउन सकिन्छ । यस्ता मोबाइल एन्टीभाइरसले मोबाइल फोनलाई थप सुरक्षित बनाउन सहयोग गर्छन् ।

६ नियमित अपडेट

स्मार्टफोनलाई सुरक्षित राख्नको लागि तपाईँले नियमितरुपमा अपडेट गरिरहनुपर्दछ । सफ्टवेयर अपडेट समय समयमा आउने गर्दछ भने यस बाहेक विभिन्न एप्स पनि अपडेट भईरहेका हुन्छन्। पुरानो भर्सनका सफ्टवेयर र एपहरु प्रयोग नगर्नुस् र आएका अपडेटहरुलाई सक्रिय गर्नुहोस् । यसले सफ्टवेयर वा एपमा भएका कमजोरीहरुलाई सुधार्छ र तपाईँको फोनलाई समेत सुरक्षित बनाउँछ ।

Global Bank
easy care

प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार

ताजा समाचार