नेपाल टेलिकमको फोरजी सेवा देशभर ५९६ स्थानिय तहमा, २४ घण्टामै २० लाख सक्रिय सेवाग्राही

Technology Khabar १९ कार्तिक २०७७, बुधबार

नेपाल टेलिकमको फोरजी सेवा देशभर ५९६ स्थानिय तहमा, २४ घण्टामै २० लाख सक्रिय सेवाग्राही
स्याङ्गजामा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले फोरजीको बिस्तारलाई तिब्रगतिमा लाने योजनासाथ देशभर ५९६ स्थानिय तहहरुसम्म फोरजी सेवा बिस्तार गरेको छ ।

कम्पनीले कोरोनाभाइरसको कारणले भएको लकडाउन र असहज परिस्थितीका कारणले गर्दा समयमा नै सेवा बिस्तार गर्न नसकिएको समेत उल्लेख गरेको छ ।

देशभर फोरजी बिस्तार गर्नेक्रममा रहेको कम्पनीले फोरजीको लागि मात्र लकडाउनपछि नयाँ ४०० भन्दा बढि साइटहरुमा फोरजी नेटवर्कका उपकरणहरु जडान गरेको र सेवा शुरु गरेको बताएको छ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले लकडाउनले गर्दा समयमा नै योजनाअनुसार फोरजी बिस्तार गर्न नसकेको बताए ।

‘लकडाउन र कतिपय कर्मचारीहरुलाई कोरोनाभाइरस लागेको कारण फोरजी बिस्तारले चाहेअनुसार गति लिन सकेको छैन् तर पनि अहिले सक्दो बिस्तार गरिरहेका छौं,’ प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार हालसम्म २८०० भन्दा बढि साइटहरुमा फोरजी नेटवर्क पुगेको छ भने तिब्रगतिमा थप संख्या बढाउन लागिएको छ ।

प्रबन्ध निर्देशक अधिकारीकाअनुसार कम्पनीले फोरजी सेवा बिस्तारलाई निकै महत्व दिएको र सोहिअनुसार काम गरिरहेको छ ।

टेलिकमकाअनुसार पछिल्लो दिनमा फोरजी सेवाग्राहीको संख्या समेत उल्लेख्यरुपमा वृद्धि भएको छ । जसअनुसार हालसम्म पछिल्लो ३ दिनमा मात्रै फोरजी सेवा प्रयोग गर्नेहरुको संख्या २५ लाख भन्दा बढि रहेको छ भने गत २४ घण्टामा मात्रै फोरजी प्रयोग गर्नेहरु २० लाख सक्रिय सेवाग्राही रहेका छन् ।

त्यसैगरि कम्पनीको फोरजी सेवा प्रयोग गर्नेगरि ७० लाख ग्राहकहरुलाई ‘प्रोभिजनिङ्ग’ गरिएको छ, जसअनुसार ती ग्राहकहरुले कुनैपनि बेला ४जी सेवा उपयोग गर्न सक्नेछन् ।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको थप फ्रिक्वेन्सी दिँदा सन् २०२० भित्रै ७७ जिल्लामा नै फोरजी पुर्याउनुपर्ने शर्त तोकिएको भएपनि यसअघि नै ७७ जिल्लामा ४जी पुर्याइसकेको जनाएको छ ।

easy care

प्रकाशित: १९ कार्तिक २०७७, बुधबार