अमेरिकी राष्ट्रपतीय चुनावमा के गर्दैछन् सोशल मिडिया कम्पनीहरु ? यस्तो छ उनीहरुको तयारी

Technology Khabar १६ कार्तिक २०७७, आईतवार

अमेरिकी राष्ट्रपतीय चुनावमा के गर्दैछन् सोशल मिडिया कम्पनीहरु ? यस्तो छ उनीहरुको तयारी
Classic Tech

यहि नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा यसपटक एकैरातमा आउने सम्भावना छैन । हुलाकमार्फत गरिएका मतदानको संख्या अभूतपूर्व रुपमा धेरै भएसँगै चुनावको नतिजा आउन ढिला हुनेछ र मतदान सकिएसँगै पूर्ण नतिजा आउन हप्तौँसमेत लाग्नसक्ने अनुमान गरिएको छ ।

यस्तो अनिश्चयपूर्ण अवधिमा अमेरिकामा आम अशान्ति अर्थात् सिभिल अनरेस्ट हुनसक्ने जोखिम छ। जसले गर्दा दुवै पक्षले आफ्नो विजयको दाबी गर्न सक्छन् र मतपरिणामबारे झुटा हल्लाहरु फैलाउन सक्छन् ।

सो अवधिमा डेमोक्र्याट र रिपब्लिकन दुबै दलले आफ्नो विजय दाबी गर्ने तथा चुनावी नतिजाबारे विभिन्नखाले गलत जानकारीहरुको समेत बाढी आउन सक्नेछ ।

आम मानिसमा बढ्ने क्रोधका साथै सोसल मिडियाहरुमा फैलिने फेक न्यूज र हेट स्पीच अर्थात् घृणा फैलाउने अभिव्यक्तिहरुले तनावको आगोमा घिउ थप्ने चिन्ता छ ।

यस्तो सम्भावनाका बीच ठूला प्रविधि कम्पनीहरुले जोखिम न्यूनिकरणका लागि कस्तो योजना बनाइरहेका छन् त ?

एउटा प्रमुख विकल्प भनेको केहि निश्चित समयका लागि सोसल मिडिया एपहरु बन्द गर्ने हुनसक्छ ।

सोसल मिडिया कम्पनीहरुले आम अशान्तिको अवस्थालाई रोक्नका लागि यस्तो उपाय समेत अपनाउन सक्दछन् । तर हालसम्म उनीहरुले सोसल मिडिया प्लेटफर्म बन्द गर्ने कुनै निर्णय भने गरिसकेका छैनन् । त्यसको साटो सोसल मिडियामा प्रस्तुत गरिने सामाग्रीहरुमा विभिन्न खालका रोकहरुको घोषणा चाहीँ गरिसकिएको छ ।

अमेरिकी राष्ट्रपति चुनावको दिन अर्थात् नोभेम्बर ३ पछि चुनावको नतिजा नआउँदा सम्मको अवधिमा ट्विटरले उम्मेदवारलाई ट्वीटरमा आफ्नो विजय दाबी गर्न रोक लगाउने भएको छ ।

साथै निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न प्रोत्साहन गर्ने खालका सामाग्रीहरु ट्वीट तथा रिट्वीट गर्नमा उम्मेदवारहरुलाई रोक लगाइनेछ ।

यदि उम्मेदवारले त्यस्ता सामाग्रीहरु ट्वीट, रिट्वीट गरेमा उनीहरुका ती सामाग्री हटाइदिने वा निलम्बन गरिदिने योजना चाहिँ ट्वीटरको छैन । उसले त्यस्ता ट्वीटमा लेबल लगाइदिनेछ र निर्वाचनको आधिकारिक नतिजा र जानकारी दिने स्रोतको लिंक राखिदिनेछ ।

उता फेसबुकले अवस्था नाजुक बनेको खण्डमा जुनसुकै उपलब्ध विकल्पहरुमा जान सकिने बताइसकेको छ । तर त्यस्तो विकल्प के हुने भन्ने चाहिँ उसले खुलाएको छैन ।

यद्यपि वालस्ट्रिट जर्नलकाअनुसार फेसबुकले हिंसा तथा फेकन्यूज फैलाउने भाइरल पोस्टहरुलाई दबाउनका लागि न्युजफिजको अल्गोरिदममा परिवर्तन गर्ने योजना बनाएको छ ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार फेसबुकले हिंसा निम्त्याउन सक्ने र झुटा समाचारका भाइरल पोस्टहरूलाई नदेखिने बनाउने लगायतका उपायहरू तयार पारेको छ । त्यसमा चुनावबारे भ्रम फैलाउने केही ह्यासट्यागलाई डिएक्टिभेट गरिदिन समेत सक्नेछ ।

फेसबुकले श्रीलंका र म्यानमार लगायतका देशमा यस्ता उपायहरु यसअघि अपनाइसकेको छ ।

फेसबुकले मतदानका बारेमा राखिएका भ्रमपूर्ण सूचनाजन्य सामाग्रीहरुमा लेबलिङ गर्ने कार्य अहिले पनि गरिरहेको छ । साथै राष्ट्रपतीय चुनावको नतिजाबारे निरन्तर अद्यावधिक विवरणको समाचार प्रशारणका लागि फेसबुकले रोयटर्ससँग सहकार्य गरेको छ ।

उता अर्को सोसल मिडिया प्लेटफर्म रेडिटचाहिँ फेसबुक र ट्वीटरभन्दा एक कदम अगाडि बढेको छ । चुनावी नतिजालाई गलत ढंगले प्रस्तुत गर्ने वा भ्रमित गराउने खालका सामाग्रीलाई रेडिटमा अनुमति दिइनेछैन र त्यस्ता सामाग्रीहरुलाई साइटबाट हटाइनेछ ।

साथै रेडिटले मतदान पश्चातका अद्यावधिक घटनाक्रम र नतिजाका बारेमा एउटा विशेष पेज नै तयार गरेको छ । रेडिटले मतदानको अर्को दिनदेखि आम सर्वसाधारणका चुनाव सम्बन्धी जिज्ञासाको विज्ञमार्फत् जवाफ दिनका लागि “आस्क मी एनिथिङ” नामक सिरिज समेत सुरु गर्नेछ ।

चुनावको नतिजा सम्बन्धी आधिकारिक समाचार सम्प्रेषण गर्नका लागि गूगलले समाचार एजेन्सी एपीसँग सहकार्य गरेको छ ।

त्यसैले अमेरिकी चुनावको मुख्य दिनपछि गूगल सर्चमा‘कसले चुनाव जित्छ ?’ भनेर सर्च गर्दा एसोसिएटेड प्रेस (एपी)को चुनावी अद्यावधिक नतिजा सम्बन्धी पेज देखा पर्नेछ ।

साथै गूगलले मतदानको दिनपछि चुनाव, उम्मेदवार वा नतिजाका विषयमा कुनैपनि विज्ञापनमा रोक लगाउनेछ । चुनाव पश्चात् नतिजाको बारेमा भ्रम सिर्जना गर्ने हुँदा यस्ता विज्ञापनहरुमा रोक लगाइएको गूगलको भनाइ छ ।

त्यस्तै युट्युबले मतदान सम्बन्धी भ्रमपूर्ण दाबीहरु तथा प्रजातान्त्रिक प्रक्रियामा बाधा पूराउन उक्साउने खालका सामाग्रीहरुलाई युट्युब प्लेटफर्ममा बन्देज लगाइने बताएको छ । उसले हुलाकबाट गरिएको मतदानको नतिजालाई तोडमोड गर्न सकिन्छ र तपेटिकाहरुका मतपत्र साटफेर गरिएको भन्ने खालका दाबी गरिएका सामग्रीहरू समेत हटाउने बताएको छ ।

साथै हिंसालाई प्रोत्साहन गर्ने खालका सामाग्रीहरुमा पनि पूर्ववत् रुपमा रोक लगाइएको हुनेछ ।

अन्य सोसल मिडिया कम्पनीहरुभन्दा स्नापच्याट केही फरक देखिएको छ । यो प्लेटफर्ममा अन्यमा जस्तो न्युजफिड नभएको र यसको छुट्टै प्रकृतिका कारण पनि यसबाट गलत सूचना भाइरल भएर फैलिने जोखिम कम हुन्छ ।

तथापि स्नापच्याटको डिस्कभर सेक्सनमा स्नापच्याट स्टार्सका सामाग्रीहरु देखिने भएको हुँदा स्नापच्याट स्टारहरुलाई कुनैपनि हालतमा भ्रमपूर्ण र गलत सूचना नफैलाउन सचेत गराएको छ ।

चुनावी प्रक्रियाको अवधिभर आफूले स्वतन्त्र तथ्य परीक्षकहरुसँग सहकार्य गरिरहेको टिकटकले जनाएको छ । मतदान तथा राष्ट्रपतीय चुनाव सम्बद्ध सबैखाले गलत र भ्रमपूर्ण सामाग्रीहरुलाई टिकटकबाट हटाइने उसले जनाएको छ ।

साथै कुनै पनि प्रयोगकर्ताले चुनाव सम्बन्धी गलत सूचना तथा सामाग्रीहरु राखेको खण्डमा अन्य प्रयोगकर्ताले उजुरी गर्नसक्ने गरी टिकटकले आफ्नो एपमा इलेक्सन मिसइन्फर्मेसन नामक फिचर थप गर्दैछ ।

यी तथ्यहरुबाट के प्रष्ट हुन्छ भने सर्वाधिक चर्चित सोसल मिडिया प्लेटफर्महरुले अमेरिकी राष्ट्रपतीय चुनाव र त्यसपछिको अवस्थालाई निकै गम्भीररुपमा लिएका छन् । उनीहरुले हाल घोषणा गरेका त्यस्ता कदमहरु पर्याप्त हुन्छन् वा हुँदैनन् त्यो भने केही दिनपछि देखिनेछ । बीबीसीबाट

TK Viber

प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

Loading...