अलिबाबाले ११.११ शपिङ्ग इभेन्टलाई दुईभागमा आयोजना गर्ने, नोभेम्बर १ तारिखदेखि नै शुरु हुने

Technology Khabar १३ कार्तिक २०७७, बिहीबार

अलिबाबाले ११.११ शपिङ्ग इभेन्टलाई दुईभागमा आयोजना गर्ने, नोभेम्बर १ तारिखदेखि नै शुरु हुने

काठमाडौं ।

चिनियाँ ईकमर्श कम्पनी अलीबाबा समूहले १२ औं वार्षिक ११.११ ग्लोबल शपिंग फेस्टिवल अर्को महिना आयोजना गर्न गईरहेको छ ।

कम्पनीका प्रमुख बजार अधिकारी क्रिस टुंगका अनुसार यस बर्षको इभेन्ट यसअघिको भन्दा दुई गुणा ठूलो हुनेछ।

‘यस वर्ष हामीसँग एकदम विशेष वर्ष छ,’ टुंगले बिहीबार मिडियासँग भने।

अलिबाबाले कोभिड-१९ महामारीको कारणले ग्राहकको किनमेल ब्यबहारमा नाटकीय र मौलिक परिवर्तन देखेको छ, साथसाथै व्यापारीहरुको पक्षबाट उनीहरूको डिजिटल रूपान्तरणको गति बढाउन धेरै काम गरेको उनले बताए।

‘विश्व अझै पनि महामारीले ल्याएका चुनौतिहरूको सामना गरिरहेको छ,’ टुंगले भने,’चीन भाग्यवान छ कि यो तिब्र र छिटो पुनःप्राप्ति देखिएको छ।’

‘अलीबाबा हाम्रा व्यापारीहरुलाई उनीहरुको डिजिटल रूपान्तरणका लागि सशक्त बनाउन र विशेष गरी चीनको बजारको वृद्धि ११.११ को माध्यमबाट हासिल गर्न पहिलेभन्दा बढी प्रतिबद्ध छ,’ उनले भने,’ यसले महामारीको समयमा यस वर्ष ११.११ लाई अर्थको भिन्न तह दिनेछ।’

चीन सबैभन्दा ठूलो उपभोक्ता बजार हो र यस वर्ष अलिबाबाले ८० करोड उपभोक्ताहरू आफ्नो २०२० ११.११ ग्लोबल शपिंग फेस्टिवलमा सम्मिलित हुने अपेक्षा गरिरहेको छ।

‘यसले सबै व्यापारीहरुलाई ठूलो अवसर प्रदान गर्दछ,’ उनले भने, ‘हामी ११.११ लाई वास्तवमै हाम्रो ब्राण्डका व्यापारीहरूको लागि ग्रोथ इञ्जिन र डिजिटलाइजेशन ड्राइभरको रूपमा सेवा दिन चाहन्छौं।’

यस बर्ष, ८९ देश र बजारका २ लाख ५० हजार ब्रान्डबाट १ करोड ४० लाख उत्पादनहरू टिमलमा बिक्रीको लागि उपलब्ध हुनेछन। यसमा ५,००० ब्रान्ड पहिलो पटक ११.११ मा सामेल हुनेछन् र ती मध्ये २,६०० अन्तर्राष्ट्रिय बजारका ब्रान्ड हुन्।

सो शपिङ्ग इभेन्टको अवधिमा अलिबाबाले  माग र आपूर्तिलाई मिलाउनका लागि मात्रै ७०० भन्दा बढि चार्टर्ड फ्लाईट गर्ने बताएको छ ।

कम्पनीलेयसलाई नोभेम्बर १ तारिखमा र नोभेम्बर ११ तारिखमा गरेर दुई भागमा विभाजन गर्ने बताएको छ भने इभेन्टहरु दाेब्बर बढि हुनेछन्। यसमा पहिलो शपिङ्ग विण्डो नोभेम्बर १ मा आयोजना हुनेछ भने दोस्रो र मुख्य नोभेम्बर ११ मा आयोजना गर्नेछ ।

कम्पनीले विशेषगरि चिनियाँ बजारका लागि कारहरु र घर समेत बिक्रीका लागि राख्ने जनाएको छ ।सो समयमा कम्पनीले २४ घण्टे लाइभ कार्यक्रमहरुसमेत आयोजना गर्ने गर्दछ ।

चीनमा नोभेम्बर ११ लाई सिङ्गल डेको रुपमा मनाउने गरिन्छ ।

नेपालमा पनि ११.११ इभेन्ट आयोजना गरिँदै आएको छ । अलिबाबाको लगानी रहेको नेपाली ईकमर्श कम्पनी दराजले बिगत केहि वर्षदेखि ११.११ इभेन्ट आयोजना गरिरहेको छ । संभवत यो वर्ष पनि दराजले ११.११ इभेन्ट आयोजना गर्नेछ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

ताजा समाचार