Technology Khabar ९ कार्तिक २०७७, आईतवार
काठमाडौं ।
कोभिड-१९ संक्रमण बढेसँगै बैङ्क तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिएका छन् ।
नियामक निकाय नेपाल राष्ट्र बैङ्कले समेत डिजिटल बैंकिङ्ग र कारोबारलाई प्राथमिकतामा राखेर सेवा दिन विभिन्न समयमा दिँदै आएका निर्देशिका बमोजिम बैङ्कहरुले सुरक्षाका प्रावधानहरुलाई अध्यावधिक गर्दै डिजिटल कारोबारमा ग्राहकहरुलाई आकर्षित गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पोस मेसिन, क्युआर कोड लगायतबाट डिजिटल कारोबार गर्न आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्दै आएका छन् ।
डिजिटल कारोबार मार्फत एक बैङ्कबाट अर्को बैङ्कको खातामा पैसा पठाउने, आफूलाई आवश्यक बस्तुहरुको किनमेल गर्ने, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ ।
डिजिटल कारोबार बढाउनका लागि दशैंको अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले दिईरहेको सुबिधा र अफरहरु यस्ता छन् ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू.१०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने बैंकले जनाएको छ ।
यो योजना यस बैंकमा आवद्ध ग्राहकहरूलाई विजया दशमी टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधिभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू.५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत मोबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोबैंक एपमा रहेको डिजिटल दक्षिणामा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कसमा दक्षिणा जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले दशैं धमाका योजना अन्तर्गत मोबाइल एपबाट कारोबार गर्दा २० प्रतिशत क्यासब्याक दिने भएको छ ।
बैंकको मोबाइल एप आरबीबी स्मार्टबाट विभिन्न कारोबार गर्दा रकम तिर्न सकिन्छ । एपबाट युटिलिटी पेमेन्ट, रिचार्ज टपअप, क्रेडिट कार्ड पेमेन्ट, रकम ट्रान्सफर अनलाइन बुकिङ र पेमेन्ट आदि गर्न सकिने बैंकले जानकारी दिएको छ।
बैंकले आरबीबी स्मार्टबाट कारोबार गर्दा हरेक कारोबारमा २० प्रतिशत (अधिकतम एक सय रूपैयाँ) क्यास ब्याक दिने भएको हो । यो योजना कात्तिक ५ देखि मंसिर ५ सम्म लागू हुने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकबाट दक्षिणा पठाउँदा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ। बैंकले दशैंमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।
विजयादशमीको दिनदेखि पूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोबाइल मनि मार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् । क्यासव्याक प्राप्त गर्न ग्राहकले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुपर्नेछ ।
उक्त क्यासव्याक पूर्णिमा पछि ग्राहकको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूनतम २ सय रुपैयाँ वा सो भन्दा वढिको दक्षिणा
मेगा बैंक
मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ। मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैँया पाउने बैंकले जानकारी दिएको छ।
त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ । दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ।
दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैँया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्नेछ।
सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५ प्रतिशत सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।
बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दसैंको दिन देखि द्वादशी सम्म तिन पटक गरी ५०० रुपैयाँ भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा विवरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले बिओके स्मार्ट डिजिटल दक्षिणा योजना ल्याएको छ । ग्राहकहरुले तिन पटक भिन्न-भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सोभन्दा बढी भएमा सय नगद उपहारको लागि योग्य हुनेछन् ।
यसको लागि बैंकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्ने हुन्छ। ग्राहक महानुभावहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ति फरक/फरक हुनुपर्नेछ । उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरुले ३ कारोबार गर्दा १ हजारभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ।
ग्राहकहरुले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । ग्राहकले कारोबारको विवरणमा दक्षिणा राख्नुपर्नेछ।
एनएमबि बैंक
एनएमबी बैंकले ‘एनएमबि दशैं बोनान्जा’ सुरु गरेको छ । कार्तिक १ गतेदेखि शुरू भएको दशैं बोनान्जा अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्नेछन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।
सनराइज बैंक
स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो ।
यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एक/एक थान स्मार्टफोन प्रदान गर्ने बैंकले जनाएको छ।
साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यासब्याक गर्ने व्यवस्था समेत बैंकले गरेको छ। बैंकले कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको छ।
एनसीएचएल
दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले ‘मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएस सँगै’ भन्ने योजना ल्याएको छ ।
यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपिएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाइ हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजारको गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।
कनेक्ट आइपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले वेबसाइट वा यसको मोबाईल एप्समा रहेको ‘ट्रान्सफर डिजिटल दक्षिणा’ मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् ।
सुरक्षित कारोबार
यस पटक ल्याएका बैंकहरुको अफरमध्ये तपाईँले ईच्छाअनुसार प्रयोग गर्न सक्नुहुनेछ । तर डिजिटल बैंकिङ्कका जोखिमहरुबाट भने सँधै बच्नुहोस् ।
बैङ्कहरुले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनिय बनाउन अपनाउनुपर्ने उपायहरु अवलम्बन गरिएको बताउँदै आएका छन् । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैङ्कहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गर्दै आएका छन् ।
ह्याकरहरुले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाई ग्राहकहरुसँग बैङ्कले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि बैङ्कर्सहरुले आग्रह गरिरहेका छन् । त्यसैले डिजिटल बैंकिङ्ग प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाका लागि बैङ्क मात्रै नभएर व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने देखिन्छ ।
प्रकाशित: ९ कार्तिक २०७७, आईतवार