शेयर बजारका लगानीकर्ताहरुले अब घरमै बसेर अनलाइन केवाइसी भर्न सक्ने

Technology Khabar ५ कार्तिक २०७७, बुधबार

शेयर बजारका लगानीकर्ताहरुले अब घरमै बसेर अनलाइन केवाइसी भर्न सक्ने

काठमाडौं ।

शेयर बजारका लगानीकर्ताहरुले अब घरबाटै आफ्नो ग्राहक पहिचान विवरण भर्न सक्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले कोभिड-१९ काे असहज परिस्थितीमा ग्राहकको विबरण सहजरुपमा अद्यावधिक गराउनका लागि नयाँ निर्देशिका स्वीकृत गरेको छ ।

बोर्डले केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले स्वीकृतिका लागि बोर्डमा बुझाएको केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका, २०७७ लाई स्वीकृत गरेको हो ।

केवाइसी सेवा सम्वन्धी कार्य संचालन निर्देशिका, २०७७ कार्यान्वयनमा आए पश्चात धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नुपर्ने झण्झटिलो व्यवस्थामा कमी हुने धितोपत्र बोर्डको  अनुमान छ ।

यो निर्देशिका स्वीकृत भएसँगै अब लगानीकर्ताले घरमा बसेर अद्यावधिक गरेको आफ्नो व्यक्तिगत विबरण बजारसम्बद्ध सबै निकायमा केन्द्रिकृतरुपमा अपडेट हुने व्यवस्था हुनेछ।

लगानीकर्ताहरुले घरबाटै केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफैँ व्यक्तिगत पहिचान सहितको केवाइसी विवरण भर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

केवाइसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने गरी व्यवस्था गर्न साथै कोरोना महामारीमा धितोपत्र व्यवसायीकोमा ग्राहकले आफूले भर्नुपर्ने ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउन उक्त निर्देशिका स्वीकृत गरेको बोर्डका निर्देशक निरन्जन घिमिरेले जानकारी दिए।

निर्देशिकामामा ग्राहकको विद्युतीय केवाइसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था, विद्युतीय केवाइसी प्रणालीको विकास सम्वन्धी व्यवस्था, ग्राहकले धितोपत्र कारोवार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाइसी दर्ता गर्नुपर्ने सम्वन्धी व्यवस्था गरिएको छ।

त्यसैगरि केवाइसी विवरण प्रयोग सम्बन्धी व्यवस्था, केवाइसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था, ग्राहकको केवाइसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था, केवाइसी विवरणको दुरुपयोग गरेमा कानुनी कारवाही सम्वन्धी व्यवस्था पनि निर्देशिकाले गरेको छ ।

यसले लगानीकर्तालाई धितोपत्र कारोबार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र बजार प्रविधिमैत्री हुँदै गई बजार विकासमा समेत थप टेवा पुग्ने बोर्डको अपेक्षा छ ।

easy care

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार