कसले पठायो मध्यरातमा त्रासदीपूर्ण एसएमएस ? दूरसञ्चार प्राधिकरणले अनुसन्धान गर्दै

Technology Khabar ३ कार्तिक २०७७, सोमबार

कसले पठायो मध्यरातमा त्रासदीपूर्ण एसएमएस ? दूरसञ्चार प्राधिकरणले अनुसन्धान गर्दै
तस्विर- सामाजिक संजालबाट ।

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज राती सेवाग्राहीहरुलाई पठाईएको त्रास दिने किसिमको एसएमएसको बारेमा अनुसन्धान गरिरहेको छ ।

गएको राती केहि मोबाइल सेवाग्राहीहरुलाई नेपालमा अचानक कर्फ्यू लागेको र सो बारेमा घरबाट बाहिर ननिस्कन भन्ने जस्तो एसएमएस पठाईएको भन्दै गुनासो आएसँगै प्राधिकरणले अनुसन्धान गरिरहेको जानकारी दिएको हो ।

सो एसएमएस नेपाल गर्भनमेन्ट सेक्यूरिटी पोर्टल नोटिसको नाममा ग्राहकहरुलाई पठाईएको थियो । जसमा नेटिजनहरुलाई घर बाहिर नजान र ससस्त्र प्रहरी फोर्सले निरन्तर हवाई उडान अनुगमन गरिरहेको तथा नेपाल भारत सीमामा देखिएको जोखिमलाई न्यून गर्ने काम गरिरहेको बताईएको छ ।

त्यसैगरि सरकारले आधिकारीकरुपमा सो बारेमा छिटै जानकारी दिने तथा अस्पताल बाहेकका निकायहरु बन्द रहने बताईएको छ ।

सो एसएमएसको बारेमा सामाजिक सञ्जालहरुमा समेत चर्चा भएको छ भने सो बारेमा अनुसन्धान गर्न सम्बन्धित निकायहरुलाई अनुरोध गरिएको छ ।

तस्विर- सामाजिक संजालबाट ।

त्यस्तो एसएमएस पठाईएको बारेमा जानकारी आएको र अनुसन्धान गरिरहेको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए।

‘हाम्रो एनटिए सर्ट टिमले अनुसन्धान गरिरहेको छ र प्रारम्भिक चरणमा कुनै भास (भ्यालू एडेड सर्भिस) सर्भिसलाई ह्याक गरिएको जस्तो देखिएको छ,’ उनले टेक्नोलोजीखबरसँग भने ।

यस बारेमा अझै स्पष्ट नभएको र अनुसन्धान सकिएसँगै सबै जानकारी सार्वजनिक गरिने बताए ।

प्राधिकरणकाअनुसार सो भास सेवा प्रदायक कम्पनी र नेटवर्क सेवा प्रदायक कम्पनीहरुलाई सो बारेमा जिम्मेबार बनाईने गरि अनुसन्धान भईरहेको छ ।

त्यस्तो एकै किसिमको एसएमएस करिब ९ हजार सेवाग्राहीलाई पठाईएको छ भने कुन कुन मोबाइल नेटवर्क प्रयोग भएको छ भन्ने बारेमा समेत अनुसन्धानपछि नै थाहा हुने बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार