लकडाउन अवधिमा नेपाल टेलिकमका एफटीटीएच ग्राहक दोब्बर बढे, आक्रामक सेवा दिने योजनामा

Technology Khabar २ कार्तिक २०७७, आईतवार

लकडाउन अवधिमा नेपाल टेलिकमका एफटीटीएच ग्राहक दोब्बर बढे, आक्रामक सेवा दिने योजनामा
Classic Tech

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लकडाउन भएपछिको समयमा उल्लेख्य संख्यामा एफटीटीएच सेवाग्राहीको संख्या वृद्धि गर्न सफल भएको छ । कम्पनीले गत वर्ष २०७६ को चैतको तुलनामा कम्पनीले यस वर्ष २०७७ को साउन महिनामा दोब्बरभन्दा बढिले एफटीटीएच (फाइबर टु दि होम) का सेवाग्राहीहरु बढाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट हालै सार्वजनिक साउन महिनाको एमआईएस रिपोर्टअनुसार कम्पनीले २ लाख १३ हजार ८०७ जना ग्राहकहरु फिक्स्ड ब्रोडब्याण्डअन्तरगत एफटीटीएच सेवामा पुर्याएको हो ।

यो तथ्यांक हेर्दा गत चैत महिनाको भन्दा करिब दोब्बरले वृद्धि भएको देखिन्छ ।

गत २०७६ चैतको तथ्यांकअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमसँग एफटीटीएचका ग्राहकहरु १ लाख २० हजार ८७३ जना मात्र रहेका थिए ।

सरकारले कोरोनाभाइसरको महामारी संक्रमणका कारण गत चैत ११ गतेदेखि ३ महिना लामो लकडाउन गरेको थियो ।

कम्पनीले लकडाउनका बिचमा पनि वैशाखमा एफटीटीएचका ग्राहकहरु वृद्धि गरेको देखिन्छ भने वैशाखमा १ लाख ३१ हजार ८०९ जना ग्राहक पुर्याएको थियो । त्यसैगरि जेठ महिनामा १ लाख ५१ हजार ५७८ जना ग्राहक पुगेका थिए भने असार महिनामा सो संख्या बढेर १ लाख ८१ हजार २३४ जना ग्राहक भएका थिए ।

कम्पनीले लकडाउनकै बिचमा इन्टरनेट लिज लाइनका ग्राहकहरु पनि थप गरेको थियो तर साउन महिनामा भने फेरी ती ग्राहकहरु हटेका तथ्यांकमा देखिन्छ । लिज लाइनका ग्राहक गत चैतमा १ हजार १०९ जना भएकोमा असारमा सो संख्या ११४९ पुगेको थियो तर साउन महिनामा भने सो लिज लाइनका केहि ग्राहकहरुले टेलिकमको सेवा छोडेका छन् । जसले गर्दा साउन महिनामा लिज लाइनका ग्राहकहरु टेलिकमसँग १०९४ जना मात्र रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनामा ब्रोडब्याण्ड कनेक्सनको तथ्यांक ।

केहि दिनअघि नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेक्नोलोजी खबरसँग कुराकानी गर्दै कम्पनीले एफटीटीएच सेवालाई बिस्तार गर्दै लगेको बताएका थिए ।

‘हामीले एफटीटीएचलाई प्राथमिकतामा राखेका छौं र त्यसैअनुसार त्यसको सेवा पनि बिस्तार गर्दैछौं र गुणस्तरिय सेवा उपलब्ध गराउँदैछौं,’ प्रबन्ध निर्देशक अधिकारीले भनेका थिए ।

उनले एफटीटीएच सेवा सुधार्न र बिस्तार गर्न छुट्टै टिम नै परिचालन गरेको र त्यसले आगामी दिनहरुमा आक्रामक योजना ल्याउने गरि काम गरिरहेको जानकारी दिएका थिए ।

पछिल्लो दिनमा टेलिकमले काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा समेत एफटीटीएच सेवा बिस्तार गरिरहेको छ जसले गर्दा सो सेवाका ग्राहकहरु समेत बढेको अनुमान गर्न सकिन्छ ।

कम्पनीले एफटीटीएच सेवाको लागि नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीहरु वर्ल्डलिंक कम्युनिकेशन्स, सुबिसु केबलनेट, क्लासिक टेक लगायतसँग तिब्र प्रतिस्पर्धा गरिरहेको छ।

कम्पनीको एफटीटीएचको सेवाग्राहीहरु बढेपनि एडिएसएलका ग्राहकहरु भने घटिरहेको देखिएको छ। सार्वजनिक तथ्यांकअनुसार गत चैतमा एडिएसएलका ग्राहक ९ लाख ३६ हजार २४३ रहेकोमा साउन महिनामा घटेर ९ लाख २४ हजार ६१४ मा पुगेको देखिन्छ ।

प्रकाशित: २ कार्तिक २०७७, आईतवार

Leave a Reply

Loading...