नेपाल दूरसञ्चार प्राधिकरण जमलमा रहेको सांस्कृतिक संस्थानको भवनमा सर्ने

Technology Khabar २२ आश्विन २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरण जमलमा रहेको सांस्कृतिक संस्थानको भवनमा सर्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरण जमलमा रहेको सांस्कृतिक संस्थानको भवनमा सर्ने भएको छ । सो बारेमा आज दूरसञ्चार प्राधिकरण र सांस्कृतिक संस्थान बीच सम्झौता भएकोछ ।

सांस्कृतिक संस्थानले सी.एम. ट्रेडिङ इन्टरप्राइजेजसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच विहिवार सम्झौता आदानप्रदान गरिएको हो ।

यसअघि काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सी. एम. ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्युन दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखि नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो ।

मन्त्री भट्टराईले नयाँ सम्झौताले सांस्कृतिक संस्थान आत्मानिर्भरतर्फ अघि बढेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धकलाई धन्यवाद दिए ।

सी. एम. ट्रेडिङसँगको सम्झौताअनुसार आ.व. २०७७।०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक २० रुपैयाँमात्र थियो ।

सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ ।

सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए ।

सी। एम। ट्रेडिङसँग भएको सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरेको महाप्रबन्धक अशोकप्यासी राईले बताए ।

नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ ।१० वर्षे नयाँ सम्झौताअनुसार आव २०८७।८८ मा संस्थानले प्राधिकरणबाट बार्षिक तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पुरानो सम्झौताअनुसार संस्थानले एक करोड ७१ लाख रुपैयाँमात्र पाउने थियो ।

easy care

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार

ताजा समाचार