आइटी ल्याब उद्घाटन गर्दै मन्त्री नेम्वाङले भने- प्राविधिक शिक्षा बिस्तार सरकारको उच्च प्राथमितामा

Technology Khabar ११ आश्विन २०७७, आईतवार

आइटी ल्याब उद्घाटन गर्दै मन्त्री नेम्वाङले भने- प्राविधिक शिक्षा बिस्तार सरकारको उच्च प्राथमितामा
फाइल

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा स्थापना गरिएको पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) को उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले आधुनिक र प्राविधिक शिक्षाले मात्रै मुलुकको समृद्धिको यात्रामा सघाउ पुग्ने जनशक्ति उत्पादन गर्नसक्ने बताएका छन् ।

मन्त्री वसन्तकुमार नेम्वाङले प्राविधिक शिक्षा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखी पूर्वाधार निर्माण गरिरहेको आएको बताएका छन् ।

‘जहाँसुकै पुगे पनि राम्रो रोजगारी प्राप्त गर्न सक्ने र आधुनिक नेपाल निर्माणमा सघाउ पुर्याउने दक्ष जनशक्ति उत्पादनका लागि आधुनिक र प्राविधिक शिक्षा अत्यावाश्यक छ’, मन्त्री नेम्वाङले भने, ‘भविष्यमा हाम्रो युवा जनशक्ति कमजोर नहोस् भन्ने उद्देश्यसहित सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ ।’

आवश्यक पूर्वाधार निर्माण गरी सरकारले प्रत्येक वर्ष १०० माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै लैजाने नीति लिएको मन्त्री नेम्वाङले बताए । आधुनिक र प्राविधिक शिक्षा विस्तारको कार्य निरन्तर चलिरहेको र यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति तथा प्रविधि विस्तारमा सरकारले लगानी गरिरहेको उनको भनाइ छ ।

शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षले जिम्मेवार पहल गर्नुपर्ने बताउँदै मन्त्री नेम्वाङले कोभिड-१९ द्वारा सिर्जित विषम परिस्थितिमा समेत विद्यार्थीलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाईमा जोड्न आवश्यक प्रयत्न गर्न आग्रह गरे ।

मन्त्री नेम्वाङका हजुरबुवाका बुवा प्रसादसिं नेम्वाङले जग्गा दान गरी उनकै पहलमा स्थापना भएको फिदिम माध्यमिक विद्यालयमै मन्त्री नेम्वाङले कक्षा १० सम्म अध्ययन गरेका थिए ।

विद्यालयमा रु ३५ लाख लागतमा २४ वटा कम्प्युटरसहित आधुनिक सूचना सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको हो ।

यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक सहयोग पुर्याएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले बताए ।

जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको विद्यालयमा गत शैक्षिक सत्रमा १ हजार ९६१ जना विद्यार्थी अध्ययनरत छन् ।

प्राधिकरणले देशैभरका सरकारी र सामुदायिक विद्यालयहरुमा आईटी ल्याब स्थापनाको कार्य गरिरहेको छ । जसअन्तरगत देशभर ९३० विद्यालयहरुमा आईटी ल्याब स्थापना गरिनेछ ।

easy care

प्रकाशित: ११ आश्विन २०७७, आईतवार

ताजा समाचार