१८०० मेगाहर्ज ब्याण्डमा पाउनुपर्ने बाँकी फ्रिक्वेन्सी लिन नेपाल टेलिकमको पत्र प्राधिकरणमा

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

१८०० मेगाहर्ज ब्याण्डमा पाउनुपर्ने बाँकी फ्रिक्वेन्सी लिन नेपाल टेलिकमको पत्र प्राधिकरणमा
Classic Tech
Nepal Telecom

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले १८०० मेगाहर्ज ब्याण्डमा आफूले बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी अक्सनको मूल्यमा नै लिन सहमत भएको छ।

यसअघि आफूले कबोल गरेको मूल्यमा पाउनुपर्ने माग राख्दै आएको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सो अडान छोडेर अक्सन मूल्यमा नै खरिद गर्न सहमत भएको हो ।

नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १८०० मेगाहर्जको बाँकी फ्रिक्वेन्सीमा दाबी गर्दै सो उपलब्ध गराईदिन निवेदन दिएको थियो ।

सोहिअनुसार नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने अक्सन मूल्यमा मात्र सो फ्रिक्वेन्सी दिन सकिने सिफारिस गरेको थियो ।

प्राधिकरणले अक्सन मूल्य अर्थात प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा नेपाल टेलिकमलाई दिन सकिने सिफारिस गरेसँगै मन्त्रालयअन्तरगतको फ्रिक्वेन्सी निर्धारण गर्ने समितिले नेपाल टेलिकमलाई सो बाँकी फ्रिक्वेन्सी उपलब्ध गराउन निर्देशन दिएको थियो।

गत वर्ष भएको १८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी अक्सनमा एनसेल आजीयाटा लिमिटेड (यसअघिको एनसेल प्रालि) ले अक्सन जितेर बाँकी ९ मेगाहर्ज फ्रिक्वेन्सी लगेको थियो ।

सोहि निर्देशनअनुसार प्राधिकरणले नेपाल टेलिकमलाई अक्सन मूल्यमा फ्रिक्वेन्सी लिने वा नलिने भनेर पत्र पठाएकोमा पत्रको जवाफ दिँदै टेलिकमले सो फ्रिक्वेन्सी लिने बताएको हो ।

कम्पनीले केहि समयअघि नै प्राधिकरणलाई १८०० मेगाहर्जमा आफूले पाउनुपर्ने सीमासम्मको बाँकी फ्रिक्वेन्सी ५ करोड ८० लाख रुपैयाँमा नै लिने पत्र ईमेल मार्फत पठाएको हो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो बाँकी फ्रिक्वेन्सी लिन निर्णय भईसकेको र जवाफ पठाईसकेको बताए ।

‘हामीले ईमेलमार्फत प्राधिकरणलाई १८०० मेगाहर्जको बाँकी फ्रिक्वेन्सी लिने पत्र ईमेल मार्फत पठाईसकेका छौं र सो पत्र प्राधिकरणमा दर्ता समेत गर्नेछौं,’ उनले भने ।

प्रबन्ध निर्देशक अधिकारीका अनुसार सो बाँकी फ्रिक्वेन्सीमार्फत कम्पनीले आफ्नो ४जी सेवाको गुणस्तर सुधार र बिस्तारमा प्रयोग गर्नेछ ।

उता प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले प्राधिकरणको पत्रको जवाफ टेलिकमले पठाएको बारेमा जानकारी नभएको बताए ।

टेलिकमको पत्र पाएसँगै प्राधिकरणको बोर्ड बैठकले समितिको निर्देशनअनुसार निर्णय गरेर कम्पनीलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँको दरले उपलब्ध गराउनुपर्नेछ।

टेलिकमले हाल १८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा १५ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ।

TK Viber

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

Comments are closed.

Loading...