नेपाल टेलिकमले अनलाइन शिक्षाको लागि मासिक ९९ रुपैयाँको प्याकेज ल्याउँदै

Technology Khabar ६ आश्विन २०७७, मंगलवार

नेपाल टेलिकमले अनलाइन शिक्षाको लागि मासिक ९९ रुपैयाँको प्याकेज ल्याउँदै
नेपाल टेलिकमको भद्राकाली प्लाजा सिंहदरबारमा रहेको केन्द्रिय कार्यालय ।फाइल
Classic Tech
Nepal Telecom

नेपाल टेलिकमले वैकल्पिक शिक्षालाई सहयोग गर्नेगरि नयाँ प्याकेज सेवा उपलब्ध गराउने तयारी गरेको छ।

सरकारी दूरसञ्चार कम्पनी टेलिकमले शिक्षा मन्त्रालयको संयोजनमा सरकारी विद्यालय तथा विद्यार्थीहरुलाई ९९ रुपैयाँ मासिक शुल्क कर बाहेकमा अनलिमिटेड भ्वाइस कलसहित डाटा सेवा उपलब्ध गराउने भएको हो ।

टेलिकमले विद्यालयको सिफारिसमा विद्यार्थी र शिक्षकहरुबिच शैक्षिक कार्यको लागि हुने कुराकानी र अनलाइन शिक्षाको लागि नयाँ प्याकेज प्रस्ताव गरेको हो ।

कम्पनीले यसको लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पेश गरेको र सो बारेमा छिटै लागू हुने कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

‘हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेका छौं र आजको पत्रकार सम्मेलनमा पनि मन्त्रि ज्यूले सो जानकारी गराउनुभएको थियो, यसको लागि परीक्षण समेत गरिसकेका छौंं,’ उनले भने ।

अधिकारीकाअनुसार सो प्याकेजको अनुमति पाएसँगै तत्काल शुरु गर्न सकिनेछ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजै भर्चुअल पत्रकार सम्मेलन गरेर शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । सोहि पत्रकार सम्मेलनमा मन्त्रि गिरिराजमणि पोखरेलले टेलिकमको प्याकेज सेवा बारेमा समेत जानकारी दिएका थिए ।

सो प्याकेज सेवामा सरकारले शिक्षा विकास केन्द्रमार्फत तयार पारेको अनलाइन शिक्षा सामाग्री हेर्न तथा डाउनलोड गर्न समेत सकिने सुबिधा दिईनेछ ।

यो प्याकेज र सेवाले अनलाइन शिक्षालाई सुलभ र सहज बनाउन सकिने प्रबन्ध निर्देशक अधिकारीको अपेक्षा रहेको छ ।

यसअघि पनि कम्पनीले विभिन्न संघ संस्थाहरुसँग ईशिक्षा प्याकेज उपलब्ध गराउनको लागि सम्झौता गरिसकेको छ ।

TK Viber

प्रकाशित: ६ आश्विन २०७७, मंगलवार

Loading...