ह्वावेसँग मेट ४० स्मार्टफोनका लागि किरिन ९०० चिपसेट ८८ लाख वटा मात्र उपलब्ध

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

ह्वावेसँग मेट ४० स्मार्टफोनका लागि किरिन ९०० चिपसेट ८८ लाख वटा मात्र उपलब्ध

काठमाडौं ।

ह्वावेले किरिन ९०० फ्ल्यागशिप चिपसेट सार्वजनिक गर्दैछ। यो चिपसेट ५एनएम प्रशोधन प्रविधिमा आधारित हुने र ५जी मोडेमसहित नै आउने पहिलो चिपसेट हुने बताइएको छ।

एक प्रतिवेदनअनुसार ह्वावेले ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसी लाई १ करोड ५० लाख वटा चिप बनाउन अर्डर दिएकोमा हालसम्म ८८ लाख वटा चिपमात्र उपलब्ध रहेको छ।

वीबोमा एक प्रयोगकर्ताले सार्वजनिक गरेको गोप्य तथ्यलाई हेर्ने हो भने टीएसएमसीसँग ५ एनएम चिप बनाउने उपकरणहरु जसलाई वेफर भनिन्छ, जम्मा २२ हजार मात्र छ। एउटा वेफरले ४ सय साँचोहरु बनाउन सक्छ। यसरी हेर्दा टीएसएमसीले ह्वावेलाई ८८ लाख चिपसेट मात्र उपलब्ध गराउन सक्ने देखिएको हो।

पहिले अक्टोबरमा सार्वजनिक हुने मेट ४० स्मार्टफोन यो वर्षको अन्त्यसम्ममा ८० लाख वटा निर्यात हुने प्रक्षेपण गरिएको थियो। तर अमेरिकाले केही दिन अघि क्वालकम किरिन, सामसङ र टीएसएमसी जस्ता चिप उत्पादकहरुलाई अब देखि चीनमा यस्ता उपकरण निर्यात गर्न नपाउने नियम ल्याएकाले टीएसएमसीले भविष्यमा उत्पादन गरेर चिनियाँ कम्पनीहरुलाई चिपसेट निर्यात गर्न नपाउने भएको हो।

यदि यो ८८ लाख चिपसेटको तथ्याङ्क सही हो भने र यो तथ्य बाहिर ल्याउनेको इतिहास विश्वासयोग्य रहेको खण्डमा ह्वावेको मेट ४० सबैले अपेक्षा गरे अनुरुप बिक्री वितरण गर्न गाह्रो हुनेछ। यसले ह्वावेको स्मार्टफोन बजारको भविष्य अनिश्चित बनाउने अनुमान गरिएको छ। एजेन्सी

easy care

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार