टिकटक, फेसबुक, यूट्यूब लगायत कन्टेन्ट प्रदायकलाई नियमन गरिने, २ महिनाभित्र नयाँ नियम

Technology Khabar ३१ भाद्र २०७७, बुधबार

टिकटक, फेसबुक, यूट्यूब लगायत कन्टेन्ट प्रदायकलाई नियमन गरिने, २ महिनाभित्र नयाँ नियम
Classic Tech

अनुज राज

पछिल्लो दिनमा इन्टरनेट ब्याण्डविथको खपतमा टिकटकले निकै समस्या दिएको छ । हाल टिकटकको लागि आकामाईको सर्भर राखेसँगै टिकटकको समस्या समाधान भईरहेको छ।

टिकटकको समस्या समाधान भएसँगै फेरी गूगलको समस्या देखिएको वर्ल्डलिंकका अध्यक्ष दिपिल अग्रवालले वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

नेपालभित्रका इन्टरनेट सेवा प्रदायकहरुले पटक/पटक कन्टेन्ट प्रदायक कम्पनीहरुबाट समस्या भोग्नुपरेसँगै सरकारी निकायले यसलाई नियमन गर्ने तयारी गरेको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अब कन्टेन्ट प्रदायक कम्पनीहरुलाई नियमन गर्ने योजना लिएको हो ।

प्राधिकरणले त्यसको लागि नियमनकारी कानूनको तयारी गरेको छ । प्राधिकरणले आगामी २ महिनाभित्र नयाँ नियम तयार गरेर कन्टेन्ट प्रदायकहरुलाई नियमन गर्ने योजना लिएको हो ।

हालै प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनीहरुलाई भदौ ३० गते पत्र पठाउँदै नियमन गर्ने जानकारी दिएको स्रोतले बताएको छ।

प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई पठाएको पत्रमा टिकटक गूगल यूट्यूब, फेसबुक, आकामाई जस्ता कन्टेन्ट प्रदायक तथा सिडिएन प्रदायकहरुलाई नियमन गर्नका लागि नियमनकारी संरचना गर्ने जानकारी दिएको छ ।

जसमा कन्टेन्ट प्रदायकहरु तथा सिडिएन प्रदायकले नेपालभित्र आफ्नो सर्भर राखेको र त्यसले स्थानीय तथा अन्तराष्ट्रिय ब्याण्डविथ खपत भईरहेको र यसले सेवाको गुणस्तरमा समेत प्रभाव पारेको उल्लेख गरिएको छ ।

यसका साथै नेपाली समाजमा नपच्ने किसिमका सामाग्रीहरु प्रदान गरिरहेको र सिडिएन प्रदायकहरुले विज्ञापनमार्फत आम्दानी गरिरहेपनि नियमनमा नरहेको भन्दै त्यस्ता कम्पनीहरु तथा सेवा प्रदायकहरुलाई नियमन गर्ने जानकारी दिएको छ।

यसको लागि सो बारेमा छलफल र अध्ययन गर्ने तथा आगामी २ महिनाभित्र नियमनकारी संरचना तयार पार्ने समेत भनिएको छ।

यसको लागि दूरसञ्चार सेवा प्रदायकहरुका प्रतिनिधिहरुलाई समेत समावेश  गरेर उपसमिति गठन गर्न लागेको हो । सो उपसमिति प्राधिकरणको अनुगमन महाशाखाका प्रमुख संयोजकसहित ८ सदस्यीय हुनेछ । जसमा मन्त्रालयका प्रतिनिधिसहित इन्टरनेट सेवा प्रदायकहरुको प्रतिनिधि तथा मोबाइल अपरेटरहरुको प्रतिनिधि हुनेछन् ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

Leave a Reply

Loading...