Technology Khabar २९ भाद्र २०७७, सोमबार
काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि विद्युतीय प्रणालीमार्फत राजश्व निर्धारण तथा संकलन गर्न सकिने सुबिधा सञ्चालनमा ल्याउने भएको छ।
सोमवार आयोजित कार्यक्रममार्फत महानगरपालिकाले असोज १ गतेदेखि विद्युतीय प्रणालीमार्फत कर संकलन गर्ने जानकारी दिएको हो ।
महानगरपालिकाअन्तरगतका वडामा कर तिर्ने करदाताले सो प्रणालीबाटै आफूले बुझाउनुपर्ने कर, शुल्क तथा विभिन्न दस्तुरहरुको प्रारम्भिक मूल्यांकनलगायतका रकम आफैंले घरमै बसेर तिर्न सक्दछन् ।
महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले अनलाइन प्रविधिमार्फत राजश्व संकलनमा वृद्धि हुने अनुमान गरेका छन् ।
उनले असोजदेखि महानगरभित्रका सबै वडामा अनलाइन सेवा सञ्चालन गर्नेगरी काम भइरहेको जानकारीदिए । उनका अनुसार, असोज १ गतेदेखि कुनै एउटा वडामा ट्रायलका रूपमा शुरुवात गरिने र त्यसपछि अन्य वडामा पनि विस्तार गर्दै लैजाने योजना छ ।
उनले खर्च लेखाङ्कनलाई सब-नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसनमा आधारित बनाइसकेको र भवन नक्सा स्वीकृति गर्ने पद्धतिलाई ‘इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम’ प्रणालीबाट कार्यान्वयनमा ल्याएको उल्लेख गरे ।
प्रकाशित: २९ भाद्र २०७७, सोमबार