एप्पलको डिभाइसहरुमा आईओएस १४ छिट्टै सार्वजनिक हुँदै, यस्ता हुनेछन् नयाँ विशेषताहरु

Technology Khabar २९ भाद्र २०७७, सोमबार

एप्पलको डिभाइसहरुमा आईओएस १४ छिट्टै सार्वजनिक हुँदै, यस्ता हुनेछन् नयाँ विशेषताहरु
Classic Tech

एप्पलले आईओएस १४ छिट्टै नै सार्वजनिक गर्दैछ। यसको बिटा भर्जन भने बजारमा आइसकेको छ। यो संस्करणमा थुप्रै नयाँ विशेषताहरु थपिएका छन्। यी विशेषताहरुका कारण एप्पलका डिभाइसहरु चलाउने तरिकामा अझ नयाँ अनुभव गर्न पाइने कम्पनीले जनाएको छ।

यो बिटा भर्जन अपडेट गरेपछि विशेषत: होम स्क्रीनमा विजेटहरु राख्ने, एण्ड्रोइडको जस्तै एप लाइब्रेरीजस्तो एप ड्रयर राख्न मिल्ने तथा आईमेसेजलाई नयाँ ढंगले चलाउन सकिने कम्पनीको दावी छ। यो पब्लिक बिटा भर्जन वाचओएस ७ तथा म्याकओएस बिग सरमा उपलब्ध छ।

कम्पनीका अनुसार यो बिट भर्जन अपडेट गरेपछि एप्पल डिभाइस चलाउने अनुभवमा कम्तीमा ६ ओटा नयाँ परिवर्तन महसुस गर्न सकिनेछ।

१. टेक्स्ट कन्भरसेसनमा कसैलाई ट्याग गर्ने
ग्रुप मेसेजका लागि ल्याइएको यो विशेषतामा ग्रुपमा रहेको कसैको ध्यान आकृष्ट गर्नुपरेमा म्यासेजमै ट्याग गर्न सकिन्छ। त्यस बाहेक कुनै एउटा च्याटको रिप्लाइ दिनुपर्दा सोझै त्यही मेसेजमा केही समय प्रेस गरेर रिप्लाइ गर्न सकिन्छ। यसका लागि च्याट लेख्दै गर्दा २ राखेर नाम टाइप गर्दा ट्याग हुन्छ। त्यसपछि कुनै म्यासेजको रिप्लाइ गर्दा त्यो मेसेजमा केही बेर प्रेस गरेपछि जवाफ लेख्ने ठाउँ आउँछ। जवाफ लेखेपछि सँगै रहेको रिप्लाइ बटन थिचेपछि सम्बन्धित व्यक्तिले सम्बन्धित च्याटको उत्तर पाउँछ।

२. कुनै कन्भरसेसनलाई मेसेजको माथिपट्टि पिन गर्ने
धेरै जना साथीहरुमध्ये आफूलाई मन परेको वा धेरै कुरा गरिरहनुपर्ने कन्ट्याक्टलाई मेसेजको सबैभन्दा माथि पिन गर्दा त्यो कन्ट्याक्ट सधैं सबैभन्दा माथि देखिन्छ र खोजिरहनु पर्दैन। कुनै पनि मेसेजलाई दायाँ पट्टि सु्वाइप गरेर उक्त व्यक्ति वा कुराकानीलाई पिन गर्न सकिन्छ।

३. ओएसमै ट्रान्सलेट एप रहने
अब नबुझेको भाषा बुझ्न गुगल ट्रान्सलेटको सहारा लिनुपर्ने छैन। आईओएस १४ मै भएको ट्रान्सलेट अप्शनमार्फत कुनै पनि भाषालाई बुझिने भाषामा अनुवाद गर्न सकिन्छ।
यसका लागि ट्रान्सलेट एप खोलेर चाहेको शब्द वा शब्दावली टाइप गर्न वा माइक बटनमा थिचेर स्पीच टु टेक्स्ट प्रयोग गरेर आफूलाई चाहिएको भाषामा अनुवाद गर्न सकिन्छ।

४. एप लाइब्रेरी सहितको अझ व्यवस्थित होम स्क्रीन
एप लाइब्रेरी अन्तिम होम स्क्रीनमा बस्नेछ। यो एण्ड्रोइडको एप ड्रयरजस्तै हुनेछ। यसले डिभाइसमा भएका सबै एपहरुलाई फोल्डर बनाएर आफैंले व्यवस्थापन गर्नेछ। यस बाहेक अर्को एउटा होम स्क्रीन बन्नेछ जसमा हामीले कहिलेकाहीँ मात्र चलाउने सबै एपहरुलाई लगेर राखिदिनेछ।
एप लाइब्रेरीमा रहेका एपहरु होम स्क्रीनमा नहुने हुनाले इन्स्टल गरेका एपहरु एकैचोटिमा हेर्नु वा खोल्नु पर्दा एप लाइब्रेरी प्रयोग गरिन्छ। यसका लागि अन्तिम होम स्क्रीनमा बायाँबाट दायाँ स्वाइप गर्नुपर्नेछ। एप लाइब्रेरीको माथिपट्टि सजेसन र रिसेन्टली एडेड भन्ने दुईवटा फोल्डर देखिनेछ भने तल हेल्थ एन्ड फिटजेस लगायत विभिन्न क्याटेगोरीका फोल्डर हुनेछन्। तिनीहरुबाटै आफ्नो आवश्यकता अनुसार एप हरु सजिलै खोलेर चलाउन सकिनेछ।

५. विजेटहरु नयाँ ढाँचामा नयाँ होममा राख्न मिल्ने
अब विजेटहरुले होम स्क्रीन भरिएर भद्दा देखिएला वा विजेट नअटाएर अर्को होम स्क्रीनमा जानु पर्ला भन्ने चिन्ता आईओएस १४ ले हटाउने भएको छ। अब सोझै डिस्प्लेमै चाहेजति विजेट राख्न सकिनेछ जसका लागि एउटा सानो फोल्डर नै डिस्पलेमा बन्नेछ। यो टुडे भ्यू फोल्डरका रुपमा मुख्य होम स्क्रीनको दायाँ पट्टि हुनेछ।

६. पिक्चर इन पिक्चर टूल प्रयोगमा नयाँपन
केही वर्षयता आईप्याडमा मात्र रहेको पिक्चर इन पिक्चर मोडमा भिडियो चलाउन सकिने फिचर अब आईओएस १४ अपग्रेडमार्फत् आईफोनमा पनि आउने भएको छ। पिक्चर इन पिक्चर मोडमा रहँदा अरु एप वा स्क्रीन चलाइरहँदा भिडियो सानो थम्बनेलका रुपमा चलिरहन्छ। स्क्रीनको अर्को भागमा जानु पर्दा भिडियो बन्दा नगरी सानो मात्रै बनाउन यसको प्रयोग गरिन्छ।

ट्विचलगायत अन्य एप्लिकेशनमा भिडियो चलिरहेको बेला होम स्क्रीनमा जानु पर्दा अब भिडियो बन्द नभइ सानो मात्र हुनेछ। यसलाई आवश्यकता अनुसार जुम इन र आउट गरी साइज घटबढ गर्न सकिनेछ। यसलाई एप चलाउँदा मात्र नभइ फेस टाइम भिडियो कल गर्दा पनि प्रयोगमा ल्याउन सकिनेछ।

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

Leave a Reply

Loading...