वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनः फोनबाटै पढाई र फोनबाटै परीक्षा

Technology Khabar २९ भाद्र २०७७, सोमबार

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनः फोनबाटै पढाई र फोनबाटै परीक्षा
Classic Tech

कोरोना भाइरस सङ्क्रमणका कारण अधिकांश विद्यालय ठप्प छन् । सामुदायिक विद्यालयका अधिकांश शिक्षक घरमै बसेका छन् । निकै कम विद्यालयले मात्र वैकल्पिक कक्षा सञ्चालन गरेका छन् । धेरैको एउटै प्रश्न हुने गर्छ कसरी पढाउनु अनलाइन चल्दैन, रेडियो, टेलिभिजन सुनिँदैन् ।

तर, उपाय अपनाउने हो भने असम्भव कुरा केही रहेनछ भन्ने उदाहरण काभ्रेको धुलिखेल नगरपालिका–११ मा रहेको कालीदेवी माध्यमिक विद्यालय, डाँडागाउँले प्रमाणित गरेको छ ।

कोरोनाको त्रासका कारण कोही पनि घर बाहिर निस्कन नसकेको अवस्थामा कालिदेवीले । ‘फोन इन’ बाटै विद्यार्थीलाई पढाएर परीक्षा लिइरहेको छ । अहिले अभिभावकको निगरानीमा घरमा नै बसेर विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक उद्धव तिमल्सिना गत वैशाख २४ गतेदेखि प्रत्येक विद्यार्थीलाई मोबाइल/मोबाइलमा ‘फोन इन’ कक्षा सञ्चालन गरेकै कारण परीक्षा लिन सम्भव भएको बताउँछन् ।

विद्यालयले भदौ २४ गतेदेखि कक्षा ५ देखि १० सम्मका विद्यार्थीको परीक्षा घरबाटै लिइरहेको छ । बालकक्षादेखि कक्षा ४ सम्मको असोज १ देखि लिने तयारीमा रहेको छ । विद्यालयले हरेक विद्यार्थीलाई प्रश्नपत्र र कपी उपलब्ध गराएको छ ।

बिहान ११ देखि कक्षा सञ्चालन भइरहेको प्रअ तिमल्सिनाले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र न्यौपाने विद्यार्थीसँग पुग्ने कुनै विकल्प नभएपछि ‘फोन इन’ मार्फत कक्षा सञ्चालन गर्न बाध्य भएको बताउँछन् ।

विद्यालयले दैनिक एक शिक्षकलाई ३० रुपियाँ फोन गर्नका लागि दिने गरको छ ।

‘नेपाल टेलिकम र एनसेलको भ्वाइस प्याकले पनि हामीलाई कक्षा लिन सहज बनायो,’ प्रधानाध्यापक तिमल्सिनाले भने, ‘फोनमा भ्वाइस प्याक लिन्थ्यौँ र विद्यार्थीसँग आलोपालो सम्पर्क गथ्यौँ ।’

घरबाट आइतबार स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको परीक्षा दिइरहेकी कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा न्यौपानेले कहीँकतै पढाइ नभएको समयमा परीक्षा नै दिन पाएकोमा अत्यन्तै खुसी लागेको बताईन् ।

फोनबाट कक्षा लिँदा प्रत्यक्ष शिक्षक नभेटे पनि विद्यालय मै पढाइरहेको अनुभूति हुने गरेको उनको अनुभव छ । ‘निकै खुसी छु, हामीसँगैका साथी पढाइ भएन के गर्ने होला भनेर चिन्ता गरिरहेको समयमा हामीले पढाइसँगै परीक्षा नै दिन पाएका छौँ,’ उनले भनिन् ।

वैकल्पिक कक्षा सञ्चालक प्रमुख एवं शिक्षक दामोदर न्यौपानेले कसरी वैकल्पिक कक्षा सञ्चालन गर्ने भनेर घर–घर पुगेर सर्भे गर्दा कुनै पनि उपाय नभएपछि अभिभावकसँगको छलफलपछि ‘फोन इन’ नै प्रभावकारी हुने देखेर कक्षा सञ्चालन गरेको बताए ।

कतिपय विद्यार्थीका अभिभावकले फोन बोकेर हिँड्ने भएपछि विद्यालयले विद्यार्थीको अनुकलतामा कक्षासमेत लिएको थियो ।

‘हामीले बिहान ८ देखि ११, ११ देखि १ र २ देखि ४ बजेसम्म कक्षा सञ्चालन गर्ने गरेका छौँ । तर, त्यस समयमा छुटेकालाई मिसकल गर्न लगाएर कक्षा लिने गरेका छौँ, न्यौपानेले बताए ।

सरकारले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएपछि विद्यालयले कक्षा निरन्तरताका लागि पूर्व विद्यार्थीलाई स्वयंसेवकको रूपमा परिचालन गर्ने योजना बनाएको छ । कालीदेवी माध्यमिक पूर्व विद्यार्थी मञ्चको सहयोग लिने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक तिमल्सिनाले बताए । १४ जनामात्र शिक्षक रहेको उक्त विद्यालयमा २१३ विद्यार्थी अध्ययनरत रहेका छन् । गोरखापत्र दैनिकबाट

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

Leave a Reply

Loading...