सप्तरीको पूर्वी क्षेत्रमा आइतबारदेखि इन्टरनेट सेवा अवरुद्ध

Technology Khabar २९ भाद्र २०७७, सोमबार

सप्तरीको पूर्वी क्षेत्रमा आइतबारदेखि इन्टरनेट सेवा अवरुद्ध
Classic Tech
Nepal Telecom

सप्तरीको पूर्वी क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । रुपनी गाउँपालिका–६ मा रहेको भगत ट्रेडर्सले सञ्चालन गरेको पेट्रोल पम्पमाथिबाट टाँगिएको तार काटिएपछि आइतबार बिहानदेखि इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

यसबाट रुपनी गाउँपालिकाको वीरेन्द्र बजारदेखि पूर्व बरमझिया, फत्तेपुर र उदयपुरको रामपुरसम्मको इन्टरनेट सेवा अवरुद्ध भएको सेवा प्रदायकले जनाएका छन् ।

इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक सुबिसु सप्तरीका सिनियर प्राविधिक ललनकुमार चौधरीले जानकारी दिए।

इन्टरनेट सेवा प्रदायकहरुले पेट्रोल पम्पका सञ्चालक रञ्जीत भगतले तार काटिदिएको आरोप लगाएका छन् ।

पेट्रोल पम्पमा तारले समस्या गरेको भन्दै भगतले तार काटिदिएको सुबिसुका चौधरीले बताए ।

‘समस्या आएको भए हामीलाई जानकारी गराएको भए हुन्थ्यो, कुनै जानकारी नै नदिई खुकुरीले तार काट्ने काम अनुचित हो,’ म्याक्स नेटका वितरक रामनाथ चौधरीले भने ।

तार मर्मत गर्न गएका कर्मचारीलाई पनि भगतले दुर्व्यवहार गरेको उनले जानकारी दिए।

मेरो घरमाथिबाट तार लैजान दिन्न भन्दै उनले प्रहरीकै सामुन्ने आफूहरुलाई गालीगलौज गरेको म्याक्स नेटका चौधरीको भनाइ छ । भगतले तार काटिँदा लाखौ रुपियाँको क्षति भएको र सेवाग्राहीले हैरानी पाएको बताए।

भगतलाई कानुन बमोजिम कारबाही र क्षतिपूर्ति भराउनुपर्ने सेवा प्रदायकहरुले माग गरेका छन् । उनीहरुले भगतविरुद्ध ईलाका प्रहरी कार्यालय रुपनीमा उजुरी समेत दिएका छन् ।

भगतले भने अप्टिकल फाइबर आफूले काटेको नभई ट्रकले चुँडाएको दाबी गरे।

‘मैले तार काटेको आरोप पुष्टि भयो भने क्षतिपूर्ती दिन तयार छु, हावाहुरीले तार तल झारेको थियो, मैले त्यस विषयमा जानकारी पनि गराएको थिए । अहिले ट्रकले चुँडाएछ,’ उनले भने । गोरखापत्रबाट

TK Viber

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

Comments are closed.

Loading...