ताप्लेजुङमा एक हप्तादेखि नेपाल टेलिकमको एडीएसएल चलेन, सेवाग्राही मारमा

Technology Khabar २८ भाद्र २०७७, आईतवार

ताप्लेजुङमा एक हप्तादेखि नेपाल टेलिकमको एडीएसएल चलेन, सेवाग्राही मारमा
Classic Tech
Nepal Telecom

नेपाल टेलिकमले प्रदान गर्दै आएको (एडीएसएल) ईन्टरनेट सेवा प्रभावकारी नहुँदा ताप्लेजुङका सेवाग्राही मारमा परेका छन्। पछिल्लो एक सातादेखि इन्टरनेटले काम गर्न छाडेपछि सदरमुकामका सर्वसाधारणदेखि सरकारी तथा गैरसरकारी कार्यालहरु मारमा परेका हुन्।

इन्टरनेटले काम गर्न छाडेपछि इन्टरनेटकै भरमा चल्ने बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु साथै सञ्चार माध्ययमहरुको काममा प्रत्यक्ष असर परेको छ। इन्टरनेटका माध्ययमबाट हुने कतिपय कामहरु छिटोछरितो नहुँदा ग्राहकले दुख पाएका छन्।

“केही दिनयता इन्टरनेट नचलेर अफिसियल सिष्टम नखुल्दा ग्राहकले बुझाउने प्रिमियमको बिलसम्म काट्न पाएको छैन, सेवाग्राही त्यसै फर्किने गरेका छन्” एसियन लाईफ ईन्स्योरेन्स कम्पनी ताप्लेजुङ शाखा प्रमुख राजकुमार कार्कीले भने। यस्तै कोभिड-१९ को संक्रमणले विद्यालयहरु बन्द भएपछि चलाइएका अनलाइन शिक्षण सिकाई क्रियाकलापमा समेत विद्यार्थीहरु सहभागी हुन पाएका छैनन्।

यता इन्टरनेटकै भरमा आफ्नो पेशा व्यवसाय चलाइरहेका कम्प्युटर एसोसिएसन अन्तर्गतका पेशा व्यवसायी समेत मारमा परेको एसोसिएसनका जिल्ला अध्यक्ष विष्णुकुमार लिम्बूले बताए। गुणस्तरीय सेवा नहुँदा यहाँका सूचना प्रविधि क्षेत्र गम्भीर समस्यामा परेको भन्दै तत्काल समस्या समाधानका लागि एसोसिएसन र नेपाल पत्रकार महासंघ जिल्ला शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन्।

टेलिकमको कार्यालय ताप्लेजुङ निमित्तको भरमा चलेको, दक्ष प्राविधिक तथा जनशक्तिको अभावमा रहेको लगायतका कारण पनि सामान्य समस्या आउँदा तत्काल समाधान नहुने गरेको एसोसिएसनले जनाएको छ।

आवश्यक रिक्त जनशक्ति व्यवस्थापन सहित गुणस्तर सुधारका लागि एसोसिएसनले ध्यानाकर्षण गराएको छ। यस्तै टेलिकमले नयाँ प्रविधि जडान गर्ने, भएकालाई व्यवस्थित गर्ने जस्ता कार्यमा चासो नदेखाएको आरोप पनि स्थानीयको छ।

कार्यालय प्रमुख विरेन्द्र चेम्जोङले भने समस्या समाधानका लागि माथिल्लो निकायसँग पटक पटक समन्वय भइरहेको बताए। जिल्ला तहबाट मात्रै यो समस्या समाधान नहुने उनको भनाइ छ।

“अहिले देखिएको समस्या चाहिँ ब्याण्डविड्थ कम भएर पनि हो, विभिन्न स्टेशन हुँदै आउने ब्याण्डविड्थ कम भएकाले अहिले राम्रोसँग चलिरहेको छैन र यो समस्या समाधानका लागि सम्बन्धित ठाउँमा कुरा भइरहेको छ”, उनले भने।

यहाँका निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकको सेवाको हालत पनि टेलिकमको भन्दा फरक छैन। प्राय बैंकहरुले र मालपोत कार्यालयले निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट सेवा लिइरहेका छन्।

तर ती संस्थाका सेवा समेत नाम मात्रका रहेका छन्। उनीहरुले वितरण गरेको इन्टरनेट सेवा पनि सुस्त छ। निजी क्षेत्रका वर्ल्डलिंक, सुबिसु, क्लासिक टेक लगायतका संस्थाहरुले उनिहरुलाई इन्टरनेट सेवा दिइरहेका हुन्।

TK Viber

प्रकाशित: २८ भाद्र २०७७, आईतवार

Comments are closed.

Loading...