Technology Khabar २६ भाद्र २०७७, शुक्रबार
भारतीय अरबपति मुकेश अंबानीको रिलायन्स इंडस्ट्रीज लिमिटेडले आफ्नो खुद्रा व्यवसायको करीव २० अर्ब डलरको हिस्सा अमेजन डट कम इंकलाई बेच्न प्रस्ताव गरेको छ ।
अमेजनले कम्पनीको रिलायन्स रिटेल भेन्चर्स लिमिटेड इकाईमा लगानी गर्ने बारेमा छलफल गरेको छ र सम्भावित लेनदेनको लागि कुराकानीमा चासो व्यक्त गरेको छ, सो बारेमा जानकार व्यक्तिलाई उदृत गर्दै ब्लूमवर्गको रिपोर्टमा उल्लेख छ ।
मुम्बईस्थित रिलायन्स इन्डस्ट्रीज अमेजनलाई सहायक कम्पनीको ४० प्रतिशत जति शेयर बेच्न इच्छुक रहेको रिपोर्टमा उल्लेख छ ।
यो सम्झौता यदि सफल भयो भने भारतमा एउटा विशाल खुद्रा कम्पनी मात्र सिर्जना गर्दैन यसले विश्वको सबभन्दा द्रुत बृद्धि भईरहेको उपभोक्ता बजारमा जेफ बेजोस र एशियाको सबैभन्दा धनी मानिसबिचको प्रतिद्वन्द्वीता रोक्न सहयोग पुर्याउँछ ।
यदि २० अर्ब डलरमा सम्झौता भएमा अमेजनका लागि यो सम्झौता भारतमा अहिलेसम्मको सबैभन्दा ठूलो हुने कुरा ब्लूमबर्गले संकलन गरेको तथ्यांकले देखाएको छ ।
यसैबिच भारतीय कम्पनी रिलायन्स इंडस्ट्रीजको सेयर रेकर्ड वृद्धि हुँदै भारतको पहिलो २०० विलियन डलर बजार मूल्य हुने कम्पनी हुन सफल भएको छ । जसले कम्पनीलाई विश्वको ४० औं मूल्यवान कम्पनी बनाएको छ ।
प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार