देशको हरेक क्षेत्रमा इन्टरनेट बिस्तार गर्दै डिसहोम फाइबरनेट, ८३३ रुपैयाँमै २५ एमबीपीएसको सेवा

Technology Khabar २४ भाद्र २०७७, बुधबार

देशको हरेक क्षेत्रमा इन्टरनेट बिस्तार गर्दै डिसहोम फाइबरनेट, ८३३ रुपैयाँमै २५ एमबीपीएसको सेवा
Classic Tech

साजन सुवेदी

विगत १० वर्षदेखि डीटीएच टेलिभिजनमार्फत् देशका ७७ जिल्लामा सेवा दिँदै आएको डिस मिडिया नेटवर्क लिमिटेड (डिस होम)ले अब इन्टरनेट सेवा प्रदायकको रुपमा पनि आफ्नो उपस्थिति जनाएको छ।

स्याटेलाइटबाट सोझै घरघरमा डाइरेक्ट टु होम (डिटिएच) प्रविधिबाट सानो छाताको माध्यमबाट विना रोकावट डिजिटल टेलिभिजनको अनुभव गराउन लागि परेको डिस होमले यी वर्षहरुमा ग्राहकहरुबाट पाएको सन्तुष्टिको प्रतिक्रियाबाट हौसला लिँदै भरपर्दो इन्टरनेट सेवा दिने उद्देश्यले यो क्षेत्रमा हात हालेको डिस फाइबरनेटका महाप्रबन्धक रमेश सापकोटाको भनाइ छ।

विगत एक दशकदेखि एउटा छुट्टै र नयाँ प्रविधिमार्फत् देशभर सेवा प्रदान गर्दै आएको कम्पनी अचानक दर्जनौं इन्टरनेट सेवा प्रदायक(आईएसपी )हरु भएको यति सानो बजारमा किन आउनुपर्‍यो भन्ने सामान्य जिज्ञासा सबैको मनमा उब्जन सक्छ।

सापकोटाकाअनुसार जसरी डिस होमले पुरानो एनालग टेलिभिजन हेर्ने बानी लागेका नेपालीहरुको अनुभव अन्तर्राष्ट्रिय तरिकाको बनाउने उद्देश्यले आफ्नो सेवा थाल्यो र नेपालमै नयाँ प्रविधि भित्र्याई २५ लाखभन्दा बढी ग्राहकहरुलाई सन्तुष्टि दिन सक्यो त्यस्तै विभिन्न आईएसपीहरुबाट चाहेजस्तो सेवा नपाएर दिक्क भएका ग्राहकहरुलाई बोली र व्यवहार एउटै हुनेगरी इन्टरनेट सेवा प्रदान गर्ने हिसाबले डिस होमले यो क्षेत्रमा हात हालेर काम थालेको हो।

देशभर फाइबर सेवा बिस्तार गर्दै

डिस मिडिया नेटवर्क लिमिटेडअन्तरगत डिसहोम फाइबरनेट अहिले सेवा र नेटवर्क विस्तारको अवस्थामा रहेको छ। बिस्तारका बारेमा सापकोटा भन्छन्,  ‘हामीले फाइबर सेवा देशका मुख्य शहरहरुमा विस्तार गरिरहेका छौं। अरुको नेटवर्कमा काम गर्दा भविष्यमा ब्याण्डविथ बढाउनुपर्दा समस्या हुने भएकाले आफ्नै फाइबर नेटवर्क निर्माण गर्दै विस्तार गरिरहेका छौं।’

उनका अनुसार बरु केही समय लागोस् तर आफ्नै पूर्वाधारमार्फत् सहज सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने हिसाबले फाइबर नेटवर्क विस्तार गरिँदैछ।

यता फाइबर नेटवर्क द्रुत गतिमा चलिरहेको छ भने केही समयदेखि डिसहोम फाइबरनेट भैंसेपाटी, बुंगमति, खोकना तथा बौद्ध र जोरपाटीमा ८३३ रुपैयाँ प्रति महिनाका दरले २५ एमबीपीएसको इन्टरनेट सेवा दिइरहेको छ।

अहिले कोरेनाका कारण मानिसहरु घरमै बसिरहेको र शिक्षा मनोरञ्जन तथा सूचनाका लागि इन्टरनेट अत्यावश्यक भएकाले अन्य सेवा प्रदायकहरुको दाँजोमा सुपथ मूल्यमा इन्टरनेट सेवा दिइरहेको सापकोटा दाबी गर्छन्।

गुणस्तरीय सेवाका लागि ह्वावेसँग सहकार्य

नेपालमा दशकौंदेखि दर्जनौं इन्टरनेट सेवा प्रदायकहरु बजार ओगटेर बसिरहेका छन्। तर जति धेरै आईएसपीहरु भए पनि गुणस्तरीय सेवा नपाएको गुनासो हरेक सेवा प्रदायकका ग्राहकहरुको रहँदै आएको छ।

यस्तोमा एउटा डीटीएच टेलिभिजन सञ्चालन गर्दै आइरहेको संस्थाले यो क्षेत्रमा हात हाल्ने हिम्मत गर्नु सामान्य कुरा होइन। करोडौ रुपैयाँ लगानी गर्नपर्ने र त्यसमाथि बजारमा पहिलेदेखि नै डेरा जमाएर बसेका संस्थाहरुसँग प्रतिस्पर्धामा खरो उत्रनु आफैँमा गाह्रो कुरा हो। यति हुँदाहुँदै पनि फाइबर नेट सेवा प्रदान गर्न किन लागि परेको छ त ? के डिसहोम फाइबर नेटले आफूलाई अरु भन्दा फरक देखाउन सक्ला त ?

‘हामीले फाइबार नेटका लागि चीनको ह्वावे कम्पनीसँग काम गरिरहेका छौं,’ सापकोटा भन्छन्, ‘ह्वावे विश्वमै चिनिएको टेलिकम्युनिकेशन जायण्ट हो, हामीले फाइबरदेखि अन्य आवश्यक उपकरणहरु ह्वावेसँगै लिएका छौं जुन सामग्रीहरु अत्याधुनिक प्रविधियुक्त छन्।’

यसरी २०२० को उच्च प्रविधियुक्त सामान र उपकरणहरुको प्रयोग भएको हिसाबले सेवाको गुणस्तरमा पहिलादेखि बजारमा भएका अन्य सेवा प्रदायकहरुको भन्दा अब्बल रहने उनको भनाइ छ।

त्यस बाहेक बिक्रीपछिको सेवा र सुपथ मासिक शुल्क पनि डिस फाइबर नेटका अरुभन्दा भिन्न देखाउने मुख्य विशेषताहरु भएको उनको ठहर छ।

उनी भन्छन्, ‘हामीले डिस होमका डिलरमार्फत ग्राहकले कनेक्सन लिने तथा केही समस्या आइपरे नजिक भए डिलरमार्फत् र नभए टोल फ्री नम्बरमा फोन गरेपछि तुरुन्तै प्राविधिकहरु गएर समाधान गर्ने द्रुत सेवा दिइरहेका छौं जुन अहिले बजारमा रहेका आईएसपीहरुमा देख्न पाइएको छैन।’

ग्राहकहरुलाई सेवा र शुल्क भुक्तानीमा सुनिश्चितता

अहिले चलिरहेका आईएसपीहरुले इन्टरनेटसँगै आईपीटीभी सुविधा पनि दिने भएकोले एउटै ब्याण्डविथबाट टिभी चलाएर इन्टरनेट चलाउँदा स्पीड कम हुने हुन्छ । तर डिसहोम फाइबर नेटले एकै मूल्यमा छातामार्फत डीटीएच टिभी पनि दिने भएकोले इन्टरनेट नबाँडिने हुँदा तोकेको जति पुरै स्पीडको इन्टरनेट चलाउन पाउने दावी सापकोटाको छ।

यसबाहेक अहिले आईंएसपीहरुलाई शुल्क बुझाउन काउन्टरमा जानुपर्ने वा अनलाइनमार्फत भुक्तानी गर्नुपर्नेमा डिसहोम फाइबर नेटका ग्राहकहरुले विभिन्न शुल्कका कार्डहरु डिस होम डिलरहरुमा पाउने तथा डिलरमार्फत नै भुक्तानी गर्न सक्ने हुनाले शुल्क बुझाउन नपाएर सेवामा समस्या आउने सम्भावना कम रहने कम्पनीको दावी छ।

कम्पनीले डिस होम तथा सिम टीभीका पहिलेदेखिकै ग्राहकहलाई टिभी र इन्टरनेट दुबै बन्डलिङ गरेर दिइराखेको छ। आफ्नै फाइबरमार्फत घरसम्मै सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट तथा केबल वा डिसमार्फत् थुप्रै एचडी च्यानलसहितको डिजिटल टीभीको सुविधा दिएकाले पुराना ग्राहकबाट स्याबासी पाईरहेकोमा नयाँ ग्राहकहरुले आफ्नो क्षेत्रमा कहिले डिसहोम फाइबर नेट विस्तार हुन्छ भन्ने जिज्ञासा आउने गरेको सापकोटाको भनाइ छ।

लकडाउनले सेवा बिस्तारमा समस्या

ग्राहकको सेवामा चाँडै नै आउन खोजे पनि पछिल्लो ५/६ महिनादेखिको लकडाउनका कारण सेवा विस्तारमा असहजता देखिएको छ। सबै ठाउँमा धेरै प्राविधिक र कामदार परिचालन गरेर काम गर्ने वातावरण नभएकाले भने जसरी काम अगाडि बढ्न सकेको छैन। तर यसको मतलब बिल्कुलै काम नभएको भने होइन। सरकारले यो महामारीको बेला इन्टरनेटलाई अत्यावश्यक क्षेत्रका रुपमा राखेकाले फाइबर नेटवर्कको विस्तारमा सरकारको सहयोग भरपूर पाएको छ।

अन्तर्राष्ट्रिय उडान रोकिएकाले चीनबाट आउनुपर्ने कतिपय उपकरण र मालसामान रोकिएकाले स्टकमा रहेका मालसामान प्रयोग गरेर सेवा विस्तारको काम भइरहेको छ।

आगामी दिनमा सेवालाई देशैभर फैलाउने कम्पनीको योजना छ। जसरी डिस होम देशमा कुना काप्चा सबैतिर उच्चस्तरीय टिभी हेराइको अनुभव बाँड्न सफल भएको छ ठिक त्यसैगरी केही वर्षभित्र देशका सबै क्षेत्रमा डिसहोम फाइबर नेट पुर्याउने दिर्घकालिन लक्ष्य रहेको सापकोटा सुनाउँछन्।

स्याटेलाइटमार्फत् इन्टरनेट सेवा परीक्षण सफल

तर भौगोलिक बनावटका कारण सबै ठाउँमा फाइबर सेवा विस्तार गर्न सहज र सुलभ भने छैन। त्यसो त केबलसम्म पुग्न नसकेका दूरदराजमा समेत उत्तिकै स्तरीय डिजिटल डीटीएच सेवा पुर्याएर ग्राहकको मन जितिसकेको कम्पनीले त्यस्तै तारको झण्झटविना नै इन्टर्नेट पनि दिए हुने भन्ने जिज्ञासा ग्राहकबाट नउठेको पनि होइन। र कम्पनीलाई पनि यस्तै हिसाबले सेवा प्रदान गर्न पाए सामाजिक उत्तरदायित्वका साथै ग्राहकको सन्तुष्टि अर्को चरणमा पुर्याउन सकिन्थ्यो भन्ने नलागेको होइन।

त्यसैले त केही समय अघि देशका विभिन्न १५/१६ जिल्लामा वायरलेस प्रविधिबाट स्याटेलाइटमार्फत् सोझै घरघरमा पुग्ने इन्टरनेट सेवाको परीक्षण गरिसकेको थियो। प्रविधिक तथा गुणस्तरका हिसाबले सफल रहेको उक्त सेवाको मूल्य बढी पर्न आउने भएकाले र नेपालीहरुको आयस्तरले भ्याउने भन्दा बढी शुल्क आउने आंकलन भएपछि यो सेवा तत्काल थाती राखेर कम्पनी फाइबर मार्फत सेवा प्रदान गर्न जुटेको हो।

तर सापकोटाका अनुसार वायरलेस प्रविधिमार्फत् इन्टरनेट दिन सकिए देशका सबै ठाउँका बासिन्दा लाभान्वित हुने भएकाले लगानी मात्रै उठ्ने वातावरण भयो भने पनि सामाजिक उत्तरदायित्वका हिसाबले सेवा सञ्चालन गर्न सक्ने रणनीतिमा कम्पनी रहेको महाप्रबन्धक सापकोटा प्रष्ट पार्छन्।

प्रकाशित: २४ भाद्र २०७७, बुधबार

Comments are closed.

Loading...