Technology Khabar १८ भाद्र २०७७, बिहीबार
काठमाडौं ।
सरकारले अनलाइन डेलिभरी र होम डेलिभरीको लागि पहिलो पटक मापदण्ड जारी गरेको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मादपण्ड निर्माण गरी उक्त मापदण्ड पालना गर्ने गरी होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न अनुमति दिएको छ ।
पहिलो पटक तयार पारिएको मापदण्ड प्रशासन कार्यालय, बाणिज्य विभाग,नेपाल प्रहरीलगायतका निकायको संयोजनमा तयार पारिएको हो ।
सो मापदण्डको आधारमा आजैदेखि होम डेलिभरी सेवा संचालन शुरु भएको छ ।
मापदण्डमा अनलाइन सपिङ्ग वा ईकमर्श संचालनको लागि तोकिएका विषयहरु पालना गर्नुपर्नेछ भने निश्चित र तोकिएका मापदण्डअनुसार मात्र होम डेलिभरीको काम गर्न सकिनेछ ।
यसरी अनलाइन सेवा संचालन गर्न दर्ता भएको हुनुपर्नेछ भने सम्पर्क नाम र नम्बर स्पष्ट खुलेको हुनुपर्नेछ ।
सबै वस्तु र मूल्य खुलेको हुनुपर्ने छ प्रावधान राखिएको छ भने होम डेलिभरी गर्दा कम्तिमा २ मिटरको दूरी कायम गरेर मात्र डेलिभरी दिनुपर्नेछ ।
यसरी होम डेलिभरी गर्दा दिउँसो १ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र गर्न पाईनेछ ।
होम डेलिभरी गर्ने व्यक्तिले अनिवार्य मापदण्डअनुसारको सुरक्षाका उपायका साथै कम्पनीको परिचय पत्र बोकेको हुनुपर्नेछ ।
तर यस मापदण्डमा समेत होम डेलिभरी गर्ने व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने प्रावधान राखिएको छ।
अनलाइन तथा होम डेलिभरी गर्ने सामाग्रीहरु समेत मापदण्डमा तोकिएको छ जसमा अत्यावश्यक वस्तुहरु, दैनिक प्रयोग हुने घरायसी सामाग्रीहरु, औषधिजन्य वस्तुहरु, बच्चाले प्रयोग गर्ने वस्तुहरु, कृषिजन्य उत्पादनहरु, जनावरको हेरचाह गर्न चाहिने सामाग्रीहरु, फास्टफुड परिकारहरुलगायत छन् ।
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार