Technology Khabar १८ भाद्र २०७७, बिहीबार
काठमाडौं ।
अमेजनका मुख्य कार्यकारी अधिकृत जेफ बेजोजकी पूर्वपत्नी तथा लेखिका म्याकेञ्जी स्कट विश्वकै धनी महिला बनेकी छिन्।
ब्लूमबर्गको बिलिनियर इन्डेक्सका अनुसार उनको खुद सम्पत्ति ६८ बिलियन डलर रहेको छ।
स्कटले सन् २०१९ मा जेफ बेजोजसँगको डिभोर्सको २ पटकको लेनदेनमा बेजोजको अमेजनमा रहेको एक चौथाइ शेयर पाएकी थिइन्। त्यो तत्कालीन समयमा ३५ बिलियन डलर बराबर मूल्यको थियो। उनी अहिले विश्वका धनीमा मानिसहरुको सूचीमा १२ औ स्थानमा छिन्।
गएको जुलाइमा स्कटले चार वटा ऐतिहासिक काला जातिहरुको कलेजसहित ११६ संस्थालाई १.७ बिलियन चन्दा दिइसकेको घोषणा गरेकी थिइन्। उनका भनाइमा ती संस्थाहरु जातीय समता तथा जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका संस्थाहरु हुन्।
गत वर्ष स्कटले वारेन बफेट, बिल तथा मेलिन्दा गेट्सले स्थापना गरेको गिभिङ प्लेज भन्ने अभियानमा हसताक्षर गरेकी थिइन्।
उक्त अभियानले विश्वका धनी मानिसहरुलाई आफ्नो सम्पत्तिको ठूलो हिस्सा कल्याणकारी क्षेत्रमा लगाउन उत्प्रेरित गर्दछ। विश्वका धनी व्यक्ति बेजोजले अहिलेसम्म उक्त अभियानमा हस्ताक्षर गरेका छैनन्।
रिफिनिटिभको तथ्यांक अनुसार अमेजनको शेयर पछिल्लो तीन महिनामा सालाखाला २८ प्रतिशतले उकालो लाग्यो भने यो वर्षभरीमा ९० प्रतिशतभन्दा माथि नै रह्यो। यसरी शेयरमा आएको उछालले बेजोजको सम्पत्ति २०० बिलियनभन्दा माथिले बढ्यो।
प्रविधि क्षेत्रमा लगाएको शेयरको मूल्य ह्वात्तै बढेपछि स्कटको समग्र सम्पत्तिमा पनि बढोत्तरी भएर उनलाई धनी महिलाहरुको सूचीमा पहिलो नम्बरमा पुर्याएको हो।
यसै हप्ताको शुरुमा एलन मस्क मार्क जुकरबर्गलाई उछिन्दै विश्वका धनी व्यक्तिहरुको सूचीमा तेस्रो नम्बरमा पुगेका थिए। टेस्लाले सोमबार शेयर बजारमा १२ प्रतिशत कमाइ गरेको थियो। एजेन्सी
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार