Technology Khabar १८ भाद्र २०७७, बिहीबार
काठमाडौं ।
सामसङले ग्यालेक्सी जेड फोल्ड २ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई आफ्नो ग्यालेक्सी अनप्याक्ड २०२० पार्ट २ भन्ने इभेण्टमा पेश गरेको थियो।
सामसङले यसलाई ग्यालेक्सी फोल्ड र ग्यालेक्सी फ्लिपको अपग्रेड गरिएको मोडल बताएको छ। कम्पनीले अहिलेसम्म निकालेको फोल्ड गर्न मिल्ने स्मार्टफोनको श्रृंखलामा यो तेस्रो फोन हो।
ग्यालेक्सी जेड फोल्ड २ मा अल्ट्रा थिन ग्लास प्रोटेक्शन रहेको ठूलो डिस्प्ले दिइएको छ। कम्पनीले यसमा उपलब्ध ठूलो डिस्प्लेमा ग्राहकहरुले ट्याब्लेट र मोबाइल दुवैको अनुभव लिनसक्ने दावी गरेको छ।
यस्तो छ ग्यालेक्सी जेड फोल्ड २
ग्यालेक्सी जेड फोल्ड २ मा ७.६ इञ्चको फुल एचडी फोल्डेबल डाइनामिक एमोलेड इन्फिनिटी ० डिस्प्ले दिइएको छ। यसको रिफ्रेश रेट १२० हर्ज तथा आस्पेक्ट रेशियो २२.५ रहेको कम्पनीको दावी छ। डिस्फ्लेको रेजोल्युशन १७६८X२२०८ पिक्सेल रहेको छ। फोनमा ६.२ इञ्चको अर्को सुपर एमोलेड फ्ल्याश डिस्प्ले पनि रहेको छ जसको रेजोल्युशन ८१६X२२६० पिक्सेल तथा आस्पेक्ट रेशियो २५X९ रहेको छ।
ट्रिपल क्यामरा
यसमा पछाडिपट्टि ट्रिपल क्यामरा लगाइएको छ जसमा एफ १.८ अपर्चर रहेको अल्ट्रा वाइड एङ्गल लेन्सको साथमा १२ मेगापिक्सेलको मुख्य क्यामरा, एफ २.२ अपर्चरको वाइड एङ्गल लेन्स सहितको १२ मेगापिक्सेलको क्यामेरा तथा तेस्रो पनि एफर २.४ अपर्चरको टेलिफोटो लेन्ससहितको १२ मेगापिक्सेलको क्यामेरा रहेका छन्। यसले ४के रेजोल्युशनको भिडियो खिच्नुका साथै ९६० फ्रेम प्रति सेकेण्डको स्लो मोशन भिडियो पनि खिच्न सक्षम रहनेछ।
फोनमा सेल्फीका लागि बाहिरी डिस्प्लेमा १० मेगापिक्सेलको फ्रण्ट क्यामरा तथा भित्री डिस्प्लेमा पनि १० मेगापिक्सेलको क्यामरा लगाइएको छ जसका कारण फोनलाई फोल्ड नगरी पनि सेल्फी लिन सकिनेछ। सामसङले यो ग्यालेक्सी जेड फोल्ड २ लाई मिस्टिक ब्ल्याक र मिस्टिक ब्रञ्ज गरी दुई रंगमा बजारमा उपलब्ध गराएको छ।
यो फोनको न्यूनतम बजार मूल्य १,९९९ अमेरिकी डलर तोकिएको छ । आगामी दिनमा यो ४० देशहरुमा उपलब्ध हुनेछ । एजेन्सी
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार