करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब घरबाटै जाँच गर्न सकिने

Technology Khabar १६ भाद्र २०७७, मंगलवार

करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब घरबाटै जाँच गर्न सकिने
Classic Tech

अब करदाताले प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेर करचुक्ता प्रमाणपत्रले आधिकारिकता पाए/नपाएको कर कार्यालयको अनलाइनबाटै हेर्न सकिने भएको छ । आन्तरिक राजस्व विभागले आफ्नो वेबसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ।

यसको लागि करदाताले वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए/नपाएको हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो ।

यसअघिको स्थायी लेखा नम्बर खोजीलाई थप सरलिकृत गरेर करचुक्ता प्रमाणपत्रको आधिकारिकता हेर्न सकिने व्यवस्था मिलाएको हो ।

पछिल्लो समय विभागले बैंक वा विद्युतीय भुक्तानीका माध्यमबाट समेत कर तिर्न सकिने प्रणालीको विकास गरेको थियो । अहिले भने त्यसलाई थप परिस्कृत गरिएको छ ।

करदाताले कर तिरिसकेपछि आफैं करचुक्ता प्रमाणपत्र डाउनलोड समेत गर्न सक्छन् । सोही प्रमाणपत्रको आधिकारिकता जाँच वेबपोर्टलबाट नै गर्न सकिने भएको छ।

विभागले प्रारम्भमा साना करदाताका लागि विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुने गरी प्रणाली बनाएको हो । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय करचुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाएको छ।

आय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएमा करचुक्ता प्रमाणपत्र स्वचालित प्रणालिमा जारी व्यवस्था गरेको छ। विभाग अन्तर्गत प्रत्येक कार्यालयको छट्टा छुट्टै वेबपेज रहने गरी वेबसाइटमा कार्यालहरुको मेनु राखिनेछ । वेब पेज सम्बन्धित कार्यालयले नै व्यवस्थापन गर्न सकिने व्यवस्था रहेको छ ।

करका दर तथा छुट सुविधाहरु सम्बन्धी जानकारी करदाताले सहज रुपमा प्राप्त गर्न सक्ने गरी वेबसाइटको मुख्य पृष्ठमा रहेको छ । करदाता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने, करदाता दर्ता, कर विवरण र कर दाखिल, कर फिर्ता भुक्तानीमा, कर कट्टी सम्बान्धी व्यवस्था, कर छुट पाउने संस्था सम्बन्धी व्यवस्था लगायतका सुचनाहरु तयार गरी करदाता शिक्षा मेनुमा राखिएको छ ।

यसका साथै विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको बिबरण बायोम्याट्रिक प्रणालीमा अध्यावधिक गर्ने भएको छ । सो प्रयोजनका लागि सम्बन्धित कर कार्यालयमा पुगेर आफ्नो बिबरण अध्यावधिक गराउन विभागले करदातालाई आहृवान समेत गरेको छ ।

प्रकाशित: १६ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...