नेपाल टेलिकमका कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने संस्था छनौट, सरकारी दरभन्दा सस्तोमा गरिँदै

Technology Khabar १५ भाद्र २०७७, सोमबार

नेपाल टेलिकमका कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने संस्था छनौट, सरकारी दरभन्दा सस्तोमा गरिँदै
Classic Tech

अनुज राज

नेपाल टेलिकमले आफ्ना कर्मचारीहरुलाई कोभिड-१९ को संक्रमणबाट सुरक्षित पार्ने उद्धेश्यले गर्न लागेको कोभिड-१९ पीसीआर परीक्षणको लागि दुई वटा स्वास्थ्य संस्थाहरु छनौट गरेको छ ।

टेलिकमले यसअघि कोभिड-१९ को संक्रमणबाट सुरक्षित पार्ने उद्धेश्यले सार्वजनिक टेण्डर आव्हान गर्दै कोभिड परीक्षण गराउने उल्लेख गरेको थियो । काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लाहरुका आफ्ना कर्मचारीहरुको पिसिआर परीक्षणको लागि छुट्टाछुट्टै टेण्डर गरेको थियो ।

हाल कम्पनीले दुबै क्षेत्रको लागि टेण्डर पार्ने र कर्मचारीहरुको पिसिआर परीक्षण गराउने संस्थाहरु छनौट गरेको छ ।

टेलिकम उच्च स्रोतकाअनुसार आजै टेलिकमका कर्मचारीहरुको पीसीआर गर्ने संस्था छनौट गरिएको छ ।

जसमा काठमाडौं उपत्यकाको लागि बि एण्ड बि हस्पिटल छनौट भएको छ भने काठमाडौं उपत्यका बाहिरको लागि बिध म्यानेजमेन्ट प्रालि छनौट भएको छ । दुबै संस्थाहरुलाई टेलिकमले आजै छनौट भएको जानकारी दिईसकेको छ ।

टेलिकमका एक उच्च अधिकारीले आफ्ना कर्मचारीहरुलाई संक्रमण हुनबाट सुरक्षित पार्नुपर्ने कम्पनीको दायित्व भएको हुँदा परीक्षण गराउन लागिएको बताए ।

‘हामीले कोरोनाभाइरसको संक्रमण बढिरहेको बेलामा पीसीआर परीक्षण गराउन लागेका हौं, यसले हाम्रा कर्मचारीहरुलाई थप सुरक्षित राख्न सहयोग हुनेछ, हामी हाम्रा कर्मचारीहरुको स्वास्थ्य सुरक्षा प्रति सचेत छौं,’ टेलिकमका एक उच्च अधिकारीले भने।

टेण्डर अवार्ड पाउने संस्थाहरुमध्ये काठमाडौं उपत्यकामा पिसिआर परीक्षणको लागि बि एण्ड बि हस्पिटलले औसतमा प्रति व्यक्ति ३ हजार ४९० रुपैयाँमा पिसिआर परीक्षण गर्ने भएको छ भने बिध म्यानेजमेन्टले काठमाडौं बाहिरका कर्मचारीहरुको परीक्षण प्रति व्यक्ति औसत ४ हजार २०० रुपैयाँमा गर्ने भएको छ ।

यो औसत रकम सरकारी दररेट ४ हजार ४०० रुपैयाँ भन्दा सस्तो हो ।*

बि एण्ड बि हस्पिटलले कुल ३७ लाख ८६ हजार ६ सय रुपैयाँमा टेण्डर पाएको छ भने बिध म्यानेजमेन्टले ४३ लाख ५ हजार रुपैयाँमा टेण्डर पाएको छ ।

दुबै संस्थाहरुले टेलिकमको कार्यालयमा नै गएर पिसिआर परीक्षण गर्ने बताईएको छ । टेण्डर पारेका कम्पनीहरुले सम्झौताका लागि एक साता पाएका छन भने त्यसलगत्तै परीक्षणको काम शुरुगर्ने बताईएको छ ।

यसअघि टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरिएको जानकारी दिँदै अत्यावश्यक र फ्रन्ट लाइनमा रहेका सबै कर्मचारीहरुको क्रमशः परीक्षण गरिने बताएका थिए ।

* दर रेट सम्पादित

यो पनि हेर्नुस्-

आफ्ना कर्मचारीहरुको पीसीआर परीक्षण गराउँदै नेपाल टेलिकम, टेण्डरबाट प्रयोगशाला खोजिँदै

प्रकाशित: १५ भाद्र २०७७, सोमबार

Comments are closed.

Loading...