श्रमिक सूचना बैंक स्थापना, रोजगारीको लागि अनलाइनबाटै आवेदन दिन र लिन सकिने

Technology Khabar १४ भाद्र २०७७, आईतवार

श्रमिक सूचना बैंक स्थापना, रोजगारीको लागि अनलाइनबाटै आवेदन दिन र लिन सकिने
Classic Tech

सरकारले श्रम बजारसँग सम्बन्धित सूचनालाई एकीकृत गरी श्रमिक र रोजगारदाताबीच सूचना आदानप्रदान गराउने उद्देश्यले ‘श्रमिक सूचना बैंक’ स्थापना गरेको छ ।

श्रमिक सूचना बैंकले बेरोजगार युवाहरुको बिबरण सङ्कलन गर्ने, आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकतानुसार काममा लगाउन सहयोग पुर्याउने छ ।

श्रम आर्जन गर्न सक्ने जनशक्ति केकति छ, केकस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत जानकारी बैंकले उपलब्ध गराउनेछ ।

श्रमिक सूचना बैंकको कार्यान्वयनबाट श्रम बजारमा रहेका तथा प्रवेश गर्ने (१८–५९) उमेर समूहका श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभवसमेतको सम्पूर्ण विवरण सङ्कलन गर्ने र सोको विवरण विद्युतीय माध्यमबाट तथ्याङ्कका रुपमा उपलब्ध हुनेछ ।

विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणसमेत समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री रामेश्वर यादवले बताए ।

यसमा स्थानीय र प्रदेश सरकारसँगको साझेदारीमा अन्तरआबद्धता कायम हुने गरी प्राथमिकतापूर्वक श्रमिक बैंकको कार्य गरिने लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रमको बूँदा नं ८५ श्रमिक सूचना बैंक स्थापना गर्ने विषय समेटिएको थियो । श्रमिक बैंक स्थापना गरी कार्यान्वयन गर्नका लागि श्रम मन्त्रालयले विज्ञ समूह गठन गरेको थियो ।

श्रमिक बैंक तथा श्रम बैंक स्थापनासम्बन्धी अवधारणा तयार गर्न श्रम मन्त्रालयद्वारा गठित कार्यदलले गत जेठ १५ गते श्रममन्त्री यादवसमक्ष अध्ययन प्रतिवेदन पेश गरेको थियो ।

बेरोजगारले श्रमिक सूचना बैंकको अनलाइन डब्लुडब्लुडब्लु डट एलआइबी डट जिओभी डट एनपीमा ((www.lib.gov.np)) गएर आफ्नो सम्पूर्ण विवरण दर्ता गर्नुपर्नेछ । रोजगारदाताले आआफ्ना उद्योग प्रतिष्ठानमा रहेको रोजगारीको विज्ञापन प्रकाशन गर्न सक्ने व्यवस्था गरिएको छ ।

रोजगारदाताले राखेका विज्ञापन हेरेर बेरोजगारले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सो वेबसाइटको पहुँच ७ सय ५३ ओटै स्थानीय तहलाई दिईने बताईएको छ।

प्रकाशित: १४ भाद्र २०७७, आईतवार

Comments are closed.

Loading...