लो अर्थ अर्बिटबाट दिईने उच्चगतिको इन्टरनेटको वरिपरि रहेका प्रमुख पाँच अनिश्चितताहरू

Technology Khabar १३ भाद्र २०७७, शनिबार

लो अर्थ अर्बिटबाट दिईने उच्चगतिको इन्टरनेटको वरिपरि रहेका प्रमुख पाँच अनिश्चितताहरू

काठमाडौं ।

डेभिड जार्भिस
टेक्नोलोजी, मिडिया र टेलीकम्युनिकेसनका लागि डेलोइट सेन्टर

हाम्रो २०२० पूर्वानूमान रिपोर्टले ‘के लो अर्थ अर्बिट भू-उपग्रह (स्याटेलाइट) ब्रोडब्याण्डले हामीलाई संचार क्रान्ति दिन वा यो केबल स्पेस फोहोर मात्र हुनेछ ?’ भन्ने विषयको बारेमा प्रश्न उठाएको छ।

हामीले पृथ्वीबाट सबैभन्दा नजिकको अक्ष (लो अर्थ अर्बिट/लियो) मा‌‍ सन् २०२० सकिँदासम्ममा ब्रोडब्याण्ड इन्टरनेटका लागि ७०० भन्दा बढी भू-उपग्रहहरु राखिने अनुमान गरेका छौं र अझ यो नयाँ प्रक्षेपणमा त १,००० सम्म पुग्ने अनुमान गरेका छौं।

विश्वका विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरु कोभिड-१९ महामारीपछिको समयका लागि उच्च गति, कम अवरोध, विश्वभर कभरेज तथा ग्राहकलाई सन्तुष्टि दिने होडमा छन्। उनीहरु यातायात, आईओटीका लागि सञ्चार, मोबाइल पूर्वाधार, सरकार तथा सोझै उपभोक्तामा पुग्ने सेवाहरुका लागि सकेसम्म सुविधा पुर्याउने सोचमा छन्।

पछिल्लो समय कोरोनाले बिथोले पनि यो क्षेत्रमा निकै प्रगति भयो। स्पेसएक्सले मात्रै ५९७ स्टारलिंक स्याटेलाइट प्रक्षेपण गरिसकेको छ भने यो वर्षको अन्त्यबाट सार्वजनिक परीक्षण गरी सेवा थाल्ने योजना बनाएको छ।

अक्षमा ७४ वटा स्याटेलाइट राखेको वनवेबले केही समयअघि टाट पल्टिएको घोषणा गरेको थियो। वनबेब स्पेसएक्सको प्रमुख प्रतिद्वन्द्वी थियो भने यससँग प्राथमिक स्पेक्ट्रम पहुँचको अनुरोध जस्तो सुविधा दिन सक्ने कम्पनी थियो।

क्यानडाको टेलिस्याटलाई पछि पार्दै बेलायत सरकार र भारती ग्लोबलले वनवेबमा ५०० मिलियन अमेरिकी डलर लगानी गर्ने प्रस्ताव गरेका छन्। टाट पल्टिएको वन वेब बिस्तारै लयमा फर्कँदै गर्दा यसले फेरि स्याटेलाइटहरु बनाएर अन्तरिक्षमा रहेको आफ्नो स्याटेलाइटको चक्र बनाउने तर्फ अगाडि बढ्ने योजना बनाउँदै छ।

अहिलेसम्म आफ्नो स्याटेलाइट नभएको अमेजनको प्रोजेक्ट क्विपर पनि स्याटेलाइट लञ्च गर्ने प्रतीक्षामा छ।

यस क्षेत्रलाई कोरोना महामारी बाहेक अन्य समस्याले पनि जेलेको छ। जस्तै ग्राउण्ड स्टेशन निर्माण, सञ्चालन, उच्च आयामिक अक्षको वातावरण व्यवस्थापन देखि दृश्य प्रदूषणसम्म।

यी सबै चुनौतीको सामना गर्दै कुन कम्पनीले दीगो र नाफामूलक तरिका अपनाउन सक्ला भन्ने अहिलेसम्म पक्का भएको छैन।

प्रतिबद्धता र सम्भावनाको बाबजुद पनि, त्यहाँ पाँच महत्वपूर्ण अनिश्चितताहरू छन्। यी यस प्रकार छन् ।

यूजर टर्मिनल रेट र उपलब्धता-

उपभोक्ताका लागि यूजर टर्मिनल भरपर्दो बलियो उच्च प्रविधियुक्त इन्स्टल र प्रयोग गर्न सजिलो तथा सस्तो पनि हुनुपर्दछ। यो सबै गर्न सजिलो छैन। यो समस्या निराकरणमा थुप्रै काम भए पनि केही मात्र बाहिर आएका छन्।

अपेक्षाकृत सेवा दिनु र प्रयोगकर्तालाई आकर्षित गर्नु

के हाइ डेफिनिसन भिडियो, उच्च गतिको वित्तीय कारोबार, आईओटी डिभाइसहरुका लागि लगभग रियल टाइम नियन्त्रण, घरबाट काम गर्ने क्रममा भिडियो मिटिङहरुका लागि पर्याप्त उच्च गति र कम अवरोध सम्भव होला ? केही समयअघि वनवेबले उच्च गतिको हाइ डेफिनिसन भिडियो स्ट्रिमिङ लाइभ गरेको थियो, टेलिस्याटले भिडियो कन्फरेन्सिङ लगायत धेरै सेवाहरु प्रदर्शन गरेको छ भने स्टारलिंकले चाँडै नै यूएस आर्मीसँग मिलेर परीक्षण गर्दैछ।

उद्योग विस्तार तथा मजबुती-

स्टारलिंक कन्स्टेलेशन सञ्चालनको अवस्थामा छ। के वनवेबले पनि यस्तै गर्न सक्ला ? के अमेजनले बाजी मार्ला ? टेलिस्याटले भने नमूना स्याटेलाइट प्रक्षेपण गरिसकेको छ र स्याटेलाइटको सञ्जाल बनाउनका लागि उत्पादक खोज्दैछ। यसबाहेक चीनका सरकारी तथा निजी संस्थाहरु आफ्नै स्याटेलाइटको सञ्जाल बनाउन चाहन्छन्। तीमध्ये कति सञ्चालनमा आउलान र कतिका लागि अन्तरिक्षमा ठाउँ बाँकी छ त्यो भने हेर्नु नै छ।

परिवर्तनशील नियमहरु-

स्याटेलाइट सञ्चालकहरुले सरकार तथा अन्तर्राष्ट्रिय निकायहरुसँग मिलेर काम गर्नुपर्छ। समय समयमा शुल्क, फ्रिक्वेन्सी लिने प्रक्रिया, अक्षमा रहेका बेकार सामानहरु घटाउने तथा आफ्ना स्याटेलाइटहरुलाई अक्षबाट हटाउनेसम्बन्धी नीति नियमहरु परिवर्तन भईरहन्छन्। त्यसबाहेक स्याटेलाइट सञ्चालक बीच नै वैमनष्य र विभिन्न देशका निकायहरुसँगको चुनौतीका कारण प्रतिस्पर्धामा असर पर्न सक्छ।

स्याटेलाइट जुध्ने तथा अनावश्यक सामानहरु-

लो अर्थ अर्बिटमा हजारौँ नयाँ सामानहरु थुपारिनुले थुप्रै अवसर तथा चुनौती थप्न सक्छन्। प्रविधिले ऐतिहासिक महत्वका विभिन्न नयाँ सेवाहरु प्रदान गर्न सक्ने भए पनि अदृश्य र अनपेक्षित परिणामका कारण हाम्रो अन्तरिक्षमा जटिल तथा जोखिमयुक्त वातावरण उत्पन्न गराई हाम्रो अन्तरिक्षको पहुँचमै पूर्णविराम लगाइदिन पनि सक्छ।

*टेक्नोलोजी, मिडिया र टेलीकम्युनिकेसनका लागि डेलोइट सेन्टर, र डंकन स्टीवर्ट, टीएमटी रिसर्च, डेलोइट क्यानाडाका निर्देशक डेभिड जार्भिसको लेखको सम्पादित अंश अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)बाट लिईएको हो ।

easy care

प्रकाशित: १३ भाद्र २०७७, शनिबार