एनसेलको आम्दानी घटेसँगै प्रति ग्राहक औसत आम्दानी पनि घट्यो, सेवाग्राही समेत गुमायो

Technology Khabar १२ भाद्र २०७७, शुक्रबार

एनसेलको आम्दानी घटेसँगै प्रति ग्राहक औसत आम्दानी पनि घट्यो, सेवाग्राही समेत गुमायो
पुल्चोकमा रहेको हिमालयन जाभाको कफी कपमा रहेको एनसेलको लोगो । फाइल तस्बिर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजीयाटा लिमिटेडको आम्दानीसँगै प्रति ग्राहक आम्दानी समेत घटेको देखिएको छ ।

कोभिड-१९ को महामारीले कम्पनीको समग्र आम्दानीमा कमी आएसँगै कम्पनीको प्रति ग्राहक आम्दानीमा समेत कमी देखिएको हो ।

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजीयाटाले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार कम्पनीले दोस्रो त्रैमासमा प्रति ग्राहक औसत आम्दानी उच्च मात्रामा गुमाएको देखिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२० को दोस्रो त्रैमासमा कम्पनीको प्रति सेवाग्राही औसत आम्दानी पोष्टपेडको २५९ रुपैयाँ रहेको छ भने प्रिपेड सेवाको प्रति सेवाग्राही औसत आम्दानी १८९ रुपैयाँ रहेको छ ।

यसअघि पहिलो त्रैमासमा यस्तो औसत ग्राहक आम्दानी पोष्टपेडमा ३९० रुपैयाँ थियो भने प्रिपेडमा २३० रुपैयाँ रहेको थियो ।

कम्पनीले ३ महिनाको अवधिमा नै पोष्टपेडमा प्रति ग्राहक औसत आम्दानी १३७ रुपैयाँ गुमाएको छ भने प्रिपेडमा ४१ रुपैयाँ गुमाएको छ ।

कम्पनीसँग हाल पोस्टपेडमा ४ लाख ७८ हजार सेवाग्राही छन भने प्रिपेडतर्फ १ करोड ५४ लाख ४४ हजार सेवाग्राही रहेका छन् ।

सेवाग्राहीको संख्यासमेत पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा घटेको देखिएको छ।

पहिलो त्रैमासमा पोष्टपेडतर्फ कम्पनीले ३ लाख १५ हजार ग्राहकहरुमा १ लाख भन्दा बढि ग्राहक बढाए पनि कम्पनीको प्रिपेडका ग्राहकहरुको संख्या भने उच्च रुपमा घटेको देखिन्छ ।

प्रतिवेदनअनुसार पहिलो त्रैमासमा १ करोड ६८ लाख ५७ हजार प्रिपेड ग्राहकहरु थिए भने त्यसमा करिब १२ लाख ग्राहक घटेका छन् ।

अझ वार्षिक तुलना गर्दा सोहि अवधिमा सन् २०१९ मा पोस्टपेड तर्फ ५५९ रुपैयाँ प्रति ग्राहक औसत आम्दानी थियो भने प्रिपेडतर्फ प्रति ग्राहक औसत आम्दानी २८२ रुपैयाँ रहेको थियो ।

आम्दानीतर्फ समेत कम्पनीले दोस्रो त्रैमासमा अघिल्लो वर्षको तुलनामा करिब ५ अर्ब रुपैयाँ गुमाएको छ ।

यो पनि हेर्नुस्

एनसेलको आम्दानीमा कोभिडको असर, दोस्रो त्रैमासमा २ अर्ब ४९ करोड रुपैयाँले कमी

Sajilo Visa

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार