Technology Khabar १२ भाद्र २०७७, शुक्रबार
कोभिड-१९ को महामारीले निजी मोबाइल अपरेटर एनसेल आजीयाटा लिमिटेडको आम्दानीमा निकै असर पुगेको देखिएको छ । कोभिड महामारीले गर्दा कम्पनीको दोस्रो त्रैमासिकको आम्दानी उच्चरुपमा घटेको छ ।
पहिलो त्रैमासको तुलनामा गएको तीन महिनाको अवधिमा कम्पनीको आम्दानी २ अर्ब ४९ करोड ९० लाख रुपैयाँ घटेको देखिएको छ।
हालै आजीयाटाले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार एनसेलले पहिलो त्रैमासमा १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेकोमा दोस्रो त्रैमासमा सो घटेर ९ अर्ब ५४ करोड रुपैयाँमा पुगेको हो ।
पहिलो र दोस्रो त्रैमासको आधारमा हेर्दा कम्पनीको आम्दानी करिब अढाई अर्ब रुपैयाँले कमी देखिएको हो ।
तर सोहि अवधिको वार्षिक तुलना गर्दा भने कम्पनीको आम्दानी ४ अर्ब ७८ करोड ६० लाख रुपैयाँले घटेको देखिएको छ।
सन् २०१९ को दोस्रो त्रैमासिकमा १४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर यस वर्षको सोही अवधिमा भने एनसेलको आम्दानी घटेर ९ अर्ब ५४ करोड रुपैयाँमा भएको छ ।
प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार