प्रयोगमा नआएका सिमकार्ड १ वर्षपछि मात्र फेरी बिक्री गर्न पाईने, ६ महिनाको ‘सेक्यूरिटी पिरियड’

Technology Khabar ७ भाद्र २०७७, आईतवार

प्रयोगमा नआएका सिमकार्ड १ वर्षपछि मात्र फेरी बिक्री गर्न पाईने, ६ महिनाको ‘सेक्यूरिटी पिरियड’
सांकेतिक

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुराना प्रयोगमा नआएका सिमकार्डहरु १ वर्षपछि मात्र प्रयोगमा ल्याउन सकिने गरि मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणको साउन २६ गते बसेको बोर्ड बैठकले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई ६ महिनादेखि प्रयोगमा नआएको सिमकार्डहरु तत्काल प्रयोग नगरि सिम खारेज भएको मितिबाट ६ महिनापछि मात्र पुनः बितरण गर्न निर्णयसहित निर्देशन दिएको हो ।

प्राधिकरणले यसअघि ६ महिनाभन्दा बढि अवधिका सिमकार्डहरु खारेज गर्न सकिने गरि निर्णय गर्दै सोहिअनुसार कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

सोहिअनुसार कम्पनीहरुले ६ महिनादेखि एक्टिभ नभएका सिमकार्डहरु स्वःनिर्णयको आधारमा पुन प्रयोगमा ल्याएर बिक्री गर्न शुरु गरेका थिए ।

तर सो बारेमा सार्वजनिकरुपमा सुरक्षा चासो र बैंकहरुले समेत प्रयोगकर्ता बैंकिङ्ग जोखिममा पर्नसक्ने भन्दै चासो राखेसँगै प्राधिकरणले नयाँ निर्देशन जारी गरेको हो । जसमा कम्पनीहरुलाई पुरानो सिमकार्डको लागि ६ महिनाको ‘सेक्यूरिटी पिरियड’ तोकिएको छ।

अब नयाँ निर्देशनसँगै मोबाइल सेवा प्रदायकहरुले सिम प्रयोगमा नआएको अवस्थाअनुसार १ वर्षपछि मात्र सोहि नम्बरको नयाँ सिम जारी गर्न सक्नेछन् ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिन प्रसाद अर्यालले मोबाइल अपरेटरहरुलाई पुरानो सिम पुनः बितरण गर्न थप ६ महिनाको अवधि तोकिएको जानकारी दिए ।

‘यसअघि ६ महिनामा सिम खारेज गर्न सकिने गरि निर्देशन दिएको थियो अहिले भने सुरक्षा जोखिमलाई न्यून गर्नेगरि त्यसमा नै थप ६ महिनाको अवधि दिईएको हो, यसलाई ‘कुलिङ्ग पिरियड’ जस्तै भन्दा हुन्छ,’ प्रवक्ता अर्यालले भने ।

उनकाअनुसार आजभोली मोबाइल वा अनलाइन बैंकिङ्गमा मोबाइल नम्बर प्रयोग हुने र सोशल मिडियाहरुमा पनि टू फ्याक्टर अथेन्टिकेसनमा मोबाइल नम्बर नै प्रयोग हुने हुँदा १ वर्षको अवधि सुरक्षित हुने अपेक्षाअनुसार निर्णय भएको हो ।

‘६ महिनासम्म प्रयोगमा नआएका नम्बरहरु सेवा प्रदायकले पुनः जारी गर्दा हुनसक्ने जोखिमलाई न्यून गर्न बैंकर एशोसियसनको अनुरोधलाई समेत मध्यनजर गरी सिमकार्ड खारेज गरी प्रयोगमा नआएका नम्बरहरु सिम कार्ड खारेज भएको मितिबाट कम्तीमा ६ महिनापछि मात्र पुनः वितरण गर्ने,’ निर्णयमा उल्लेख छ।

प्राधिकरणको नयाँ निर्णय र निर्देशनसँगै अब कम्पनीहरुले सिम कार्ड खारेज गर्न ६ महिनाको अवधि राख्नुपर्नेछ भने सो खारेज भएको अबधिमा थप ६ महिनापछि मात्र सोहि पुरानो नम्बरमा नयाँ सिमकार्ड बिक्री गर्न सक्नेछन् ।

यो पनि हेर्नुस्-

सिमकार्ड किन्न परिचय पत्रसहित ग्राहक आफैं उपस्थित हुनुपर्ने, नत्र अधिकृत वारेसनामा आवश्यक

 

easy care

प्रकाशित: ७ भाद्र २०७७, आईतवार