देशभर १० हजार भन्दा बढी साइटहरुमा ब्रोडब्यान्ड इन्टरनेट पुग्यो, अढाई अर्ब रुपैयाँ निकासा

Technology Khabar ६ भाद्र २०७७, शनिबार

देशभर १० हजार भन्दा बढी साइटहरुमा ब्रोडब्यान्ड इन्टरनेट पुग्यो, अढाई अर्ब रुपैयाँ निकासा

काठमाडौं ।

देशैभरका स्थानीय तहका सरकारी कार्यालय र विद्यालयहरुमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने लक्ष्यअनुसार हालसम्म १० हजार भन्दा बढी साइटहरुमा इन्टरनेट जडान भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरि ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्न र इन्टरनेट जडान गर्न सञ्चालन गरिरहेको यस परियोजनाअन्तर्गत साउन मसान्तसम्म सम्झौता भएका १४ हजार ४६८ साइटमध्ये १० हजार ३६८ मा इन्टरनेट जडान भएको जानकारी दिएको छ।

प्राधिकरणका अनुसार ४६६ वटा स्थानीय निकायको कार्यालय, तीन हजार ९१० वडा कार्यालय, तीन हजार २२० माध्यमिक विद्यालय र दुई हजार ७७२ स्वास्थ्य संस्थामा इन्टरनेट जडान सम्पन्न भईसकेका छन् ।

सम्झौता भएका प्याकेजको आधारमा हेर्दा अहिलेसम्म ७१.६६ प्रतिशत स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ ।

१८ वटा प्याकेजहरु मध्ये १२ वटा प्याकेजमार्फत ४६ जिल्लाका तोकिएका बमोजिमका स्थानहरूमा १०० प्रतिशत तथा एउटा प्याकेज अन्तर्गतका ४ जिल्लाका तोकिए बमोजिमका स्थानहरूमा ५० प्रतिशत काम सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको पाँच अर्ब २६ करोड ९७ लाख रुपैयाँ लगानीमा देशभरिका वडा कार्यालय, माध्यमिक विद्यालय, सामुदायिक भवन तथा स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क बिस्तार गर्ने र दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने गरी परियोजना सुरु गरेको थियो ।

प्राधिकरणले यो परियोजनालाई कुल १८ वटा प्याकेजमा विभाजन गरेर इन्टरनेट जडानको काम अघि बढाएको छ। अहिलेसम्म १७ वटा प्याकेजमा मात्र सम्झौता भएको छ ।

बाँकि एउटा प्याकेजमार्फत ४ जिल्लाका तोकिएका स्थानहरूमा नेटवर्क तथा ब्रोडब्याण्ड कनेक्टिभिटी जडानको लागि सेवा प्रदायक छनौट भई सम्झौता हुने क्रममा रहेको प्राधिकरणले जनाएको छ।

त्यसैगरि अछाम,बझाङ्ग र बाजुरा जिल्लाहरुमा मर्कन्टायल कम्युनिकेशन्स प्रालिले जडान गरेको इन्टरनेट सेवा सम्बन्धिमा सेवा प्रदायकको नेटवर्क अपरेशन सेन्टरमा गई परीक्षण तथा अनुगमन कायय सम्पन्न गरीएको प्राधिकरणले उल्लेख गरेको छ ।

कुल १८ वटा प्याकेजमा गरेर ७०१ वटा स्थानीय तहको कार्यालय, पाँच हजार ९५२ वडा कार्यालय, पाँच हजार ५९७ माध्यमिक विद्यालय र चार हजार ३५१ गरी कुल १६ हजार ६०१ साइटमा इन्टरनेट पुर्याउने प्राधिकरणको योजना छ ।

परियोजनाका लागि हालसम्म २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँ निकासा भइसकेको प्राधिकरणले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ६ भाद्र २०७७, शनिबार

ताजा समाचार