Technology Khabar ४ भाद्र २०७७, बिहीबार
काठमाडौं ।
एनआइसी एशिया बैंकले कोभड–१९ को संक्रमण बढिरहेको बेला डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न ‘डिजिटल ग्राहक सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ।
बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहकहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको हो।
विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको जानकारी दिएको छ।
केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले बैंकले केन्द्रीय तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ लाई प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको हो।
यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा अध्यावधिक गरेको छ ।
‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ डिजिटल बैंकिङ्गलाई जोड दिइरहेको छ,’ बैंकले भनेको छ ।
बैंकको मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि गर्न सकिने बैंकको दाबी छ।
साथै, घरमै बसी खाता खोल्ने, कर्जाको आवेदन दिने जस्ता सुविधा पनि बैंकले वेबसाइटमार्फत दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंकले भनेको छ ।
यसका साथै कोभिड–१९ महामारीको जोखिमलाई कम गर्न मुलुकका विभिन्न स्थानहरूमा निषेधाज्ञा भएको अवस्थामा ग्राहकहरूमा पर्नसक्ने असुविधालाई ध्यानमा राखेर बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंङ्किङ सेवा प्रदान गर्न सीमित शाखाहरू समेत सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
अत्यावश्यक सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा बैंकको वेबसाइट www.nicasiabank.com तथा सामाजिक सञ्जालमार्फत गराउने पनि बैंकले जनाएको छ ।
प्रकाशित: ४ भाद्र २०७७, बिहीबार