Technology Khabar ३२ श्रावण २०७७, आईतवार
काठमाडौं ।
गत साता मात्रै रिलिज भएको बलिउड सिनेमा सडक-२ को ट्रेलर विश्वमै सबैभन्दा बढि मन नपराईएको अर्थात डिसलाईक पाउने ट्रेलरमध्ये एक बनेको छ ।
पछिल्लो दिनमा बलिउड कलाकार सुसान्त सिंह राजपुतको निधनपछि बहसमा आएको नेपोटिजमको कारण युवा कलाकारहरु आलिया भट्ट र आदित्य रोय कपुर तथा बलिउड स्टार संजय दत्त अभिनित सिनेमाले धेरै डिसलाईक पाएको हो ।
यूट्यूबमा रिलिज भएको सो सिनेमाको ट्रेलरले पहिले दिनदेखि नै लाईक भन्दा बढि डिसलाईक पाउँदै आएको थियो । तर अहिले भने विश्वमा सबैभन्दा धेरै डिसलाईक भएको प्रमुख तेस्रो ट्रेलर भिडियो भएको छ ।
सो सिनेमा महेश भट्टको सन् १९९१ मा रिलिज भएको चर्चित सिनेमा सडकको सिक्वेलको रुपमा आएको हो । जसलाई भट्टले नै निर्देशन गरेका छन् ।
सो ट्रेलरले हालसम्म १ करोड भन्दा बढि डिसलाईक पाएको छ भने त्यसभन्दा अगाडि जस्टिन बिबरको बेबी भन्ने गीतले १ करोड १६ लाख डिसलाईक पाएको छ ।
सबैभन्दा बढि डिसलाईक पाउने भिडियोमा यूट्यूबले आफैं पोस्ट गरेको सन् २०१८ को समाप्तिको रिवाइण्ड अफ दि ईयर २०१८ रहेको छ । जसमा १ करोड ८२ लाख भन्दा बढि डिसलाईकहरु रहेका छन् ।
यसका साथै सडक-२ को ट्रेलर भारतको यूट्यूबमा भने सबैभन्दा धेरै मन नपराईएको अर्थात डिसलाईक पाउने भिडियो समेत भएको छ ।
सडक-२ यहि अगस्ट २८ मा हटस्टारमा रिलिज हुँदैछ । जसको ट्रेलर सार्वजनिक भएको करिब ४८ घण्टामा नै ९३ लाख भन्दा बढि डिसलाईक पाएको थियो । एजेन्सीका साथ
हेर्नुस् सडक-२ को ट्रेलर-
प्रकाशित: ३२ श्रावण २०७७, आईतवार