सार्वजनिक नि:शुल्क वाईफाई चलाउनुहुन्छ ? त्यसो भए यी विषयहरुमा ध्यान दिनुस् नत्र फसिएला

Technology Khabar ३२ श्रावण २०७७, आईतवार

सार्वजनिक नि:शुल्क वाईफाई चलाउनुहुन्छ ? त्यसो भए यी विषयहरुमा ध्यान दिनुस् नत्र फसिएला
Classic Tech

पछिल्लो दिनहरुमा सार्वजनिक स्थानहरुमा नि:शुल्क वाईफाई दिने प्रचलन निकै बढ्दो छ ।

सार्वजनिक स्थान होस वा कुनै सार्वजनिक कार्यालय वा रेष्टुरेन्ट वा कुनै अन्य स्थानहरु हरेकमा वाईफाईको सुबिधा उपलब्ध रहेको छ ।

नेपालमा पनि विभिन्न स्थानहरुमा सार्वजनिक वाईफाई राखिएको छ । कतिपय स्थानमा कम्पनीहरुले राखेर सेवाग्राहीलाई आकर्षित गर्ने प्रयास गरेका छन भने सार्वजनिक स्थानहरुमा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले निशुल्क वाईफाई उपलब्ध गराएको छ ।

हामीले प्रयोग गर्ने स्मार्टफोन ल्यापटप स्मार्टवाच वा अन्य डिभाइसहरु समेत त्यस्ता निशुल्क वा पब्लिक वाईफाईमा जोडिएका हुन्छन् । जसबाट मानिसको ठूलो समूह भर्चुअल दुनियाँमा आफ्नो धेरै र महत्वपूर्ण समय व्यथित गरिरहेको छ ।

यस्ता इन्टरनेट सेवा अझ हामी पाएको खण्डमा बिना कुनै सोच प्रयोग गरि हाल्छौं । त्यसैले कहिलेकाँही ह्याकरले तपाईँको डाटाहरु ह्याक गरिदिन सक्ने संभावना हुन्छ ।

हामीले पब्लिक वाईफाई नेटवर्कमा हुँदा समेत आफ्नो सेक्युरिटी अपनाउनु पर्ने हुन्छ ।

त्यसैले यहाँ हामी पब्लिक वाईफाई नेटवर्क चलाउदा कसरी सुरक्षित रहन सक्छौँ भन्ने बारे जानकारी दिँदैछौं ।

१ सुरक्षित र विश्वसनिय पब्लिक वाईफाई मात्र चलाउनुस्
तपाईँले चलाउने पब्लिक वाईफाई कसले उपलब्ध गराएको हो वा कुन स्थानमा उपलब्ध रहेको छ भन्ने ख्याल गर्नुहोस् । विभिन्न विश्वसनिय सँस्था वा कम्पनीले चलाएको भए त्यहाँ सुरक्षााका उपायहरु रहेका हुन्छन् । तर कुनै ह्याकर वा साइबर आक्रमणकारीले समेत पब्लिक वाईफाई चलाएर डाटा चोर्ने संभावना हुनसक्छ ।

२ डिभाइसको सेटिङ्गमा ध्यान दिऔँ
पब्लिक नेटवर्कमा सुरक्षित रहने पहिलो कदम भनेको आफूले प्रयोग गर्ने डिभाइको सेटिङ हो । त्यसैले तपाईको डिभाइस अटोमेटिक कनेक्ट टू वाईफाई अप्सनमा नराख्नुहोस् । जहाँ जुनसुकै बेला भेटिएका जुनसुकै वाईफाईमा आफ्नो डिभाइस कनेक्ट हुन नदिन यो अप्सनलाई बन्द गर्नु पर्दछ । नत्र तपाईको डिभाइस तथा प्राइभेसीमा सुरक्षा खतरा आउन सक्दछ ।

३ होसियारी अपनाउनुस्
तपाईले प्रयोग गर्ने नेटवर्क तथा वेबसाइटहरुलाई दोहोर्याएर जाँच गर्नुहोस् किन कि सबै पब्लिक वाईफाई नेटवर्क सुरक्षित र विश्वसनिय हुँदैनन् । त्यसैले गर्दा कनेक्ट हुने हरेक पब्लिक वाईफाई नेटवर्कलाई विश्वास गरि नहाल्नुहोस् । पब्लिक वाईफाई नेटवर्क राखेर ह्याकरहरुले ह्याक गर्ने वा डाटा चोर्ने संभावना पनि रहन्छ । यसले गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४ आवश्यक खोजिनिति गर्नुहोस्
उपलब्ध भएको पब्लिक नेटवर्कलाई जाँच गर्न नहिच्किचाउनुहोस् । होटल, रेस्टुरेन्ट वा कुनै क्षेत्र जसले पब्लिक वाईफाई उपलब्ध गराए पनि आफ्नो डिभाइसमा कनेक्ट गर्नुअघि सो वाईफाईको अथेन्टिकेशन र आइपी एड्रेसको बिबरण बारे जानकारी लिनुहोस् । असुरक्षित अनुभव हुने पब्लिक वाईफाई नचलाउनुहोस् ।

५ पासवर्ड आवश्यक पर्ने साइट नचलाउनुस्
पब्लिक वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको संवेदनशील जानकारीहरु टाइप नगर्नुस् । साथै तपाईँको पासवर्ड राखेर लग इन गर्नुपर्ने वेबसाइटहरु नचलाउनुहोस् । सोसल मिडिया साइटहरु, व्यक्तिगत इमेल आइडी, बैंक अकाउन्टका एप्स तथा वेबसाइटहरु विल्कुलै नचलाउनुहोस् ।

६ एन्टिभाइरस प्रयोग गर्नुस्
तपाईँले प्रयोग गर्ने हरेक डिभाइसलाई ह्याकरहरुबाट जोगाउनका लागि एन्टिभाइरस सोलुशन प्रयोग गर्नुपर्दछ । यसले ह्याकिङ, मालवेयर अट्याक र अन्य भाइरसहरुबाट डिभाइसलाई सुरक्षित राख्दछ । एन्टिभाइरस प्रडक्टलाई इन्स्टल गरेर मात्र नछोड्नुस् । नयाँ नयाँ थ्रेटसँग जुध्नको लागि एन्टिभाइरसलाई समय–समयमा अपडेट गरिरहनुहोस् ।

७ भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गर्नुहोस्
तपाईँलाई वाईफाई नेटवर्क प्रयोग गर्नुपर्ने अति आवश्यकता भएमा भिपिएनबाट गर्नुहोस् । भिपिएनमार्फत गरिएको इन्टरनेट कनेक्टिभिटीमा इन्क्रिप्टेड मेसेजहरु प्राप्त हुन्छ जसले गर्दा ह्याकरलाई ह्याक गर्न गाह्रो हुन्छ र आइपि एड्रेसलाई पनि जोगाएर तपाईको डिभाइसको सुरक्षा गर्दछ । यसरी तपाईँ फिशिङको खतराबाट पनि जोगाउँदछ ।

८ वेबसाइटमा एचटिटिपिएस भए नभएको हेर्नुहोस्
सबै सेक्युरिटीका विधिहरु अपनाइसकेर पब्लिक वाईफाई नेटवर्कमा कनेक्ट भइसकेपछि तपाईले हेर्ने वा चलाउने गर्ने वेबसाइट सुरक्षित छन् वा छैनन् सो बारे निश्चित हुनु आवश्यक छ । वेबसाइट हेरिरहँदा एचटिटिपिएसबाट सुरु हुने युआरएल अर्थात एड्रेस बारमा हरियो बक्स भए नभएको निर्क्योल गर्नुहोस् । हरियो बक्सले उक्त साइट सुरक्षित र भ्यालिड डिजिटल सर्टिफिकेट तथा एसएसएल/टिएलएस इन्क्रिप्शन अप्टेडेट हो भन्ने थाहा हुन्छ ।

९ टु–फ्याक्टर अथेन्टिकेशन अपनाउनुहोस्
भेरिफिकेशन अर्थात् अथेन्टिफिकेशन प्रोसेसलाई दुई गुणा मजबुत बनाउनको लागि टु–फ्याक्टर अथेन्टिफिकेशनको प्रयोग गर्न सकिन्छ । हटस्पट प्रयोग गर्न टु–फ्याक्टर अथेन्टिफिकेशन सक्रिय गरेको खण्डमा साइबर अपराधसम्बन्धि आक्रमणबाट बच्न थप एउटा सुरक्षाको तह थपिन्छ।

१० प्रयोगपछि साइट लग आउट गर्नुस्
पब्लिक वाईफाई कनेक्सनबाट बाहिर आउन वा डिस्कनेक्ट गर्नुअघि तपाईँले लग इन गरेका सम्पूर्ण साइटहरु  लग आउट गर्नुहोस् । लग आउट नगर्दा कुनै ह्याकरको हानीकारक अट्याचमेन्ट पनि आएको हुन सक्दछ । त्यसैले गर्दा तपाई जति नै थोरै समय वाईफाई नेटवर्कमा बसेको भए पनि लग आउट गर्नुस र आफ्नो डाटा सुरक्षित राख्नुस् ।

११ प्रयोग गर्नुस् र बिर्सिदिनुस्
पब्लिक वाईफाईलाई म्यानुअल्ली कनेक्ट गर्नुहोस् । म्यानुअल्ली कनेक्ट गरेर प्रयोग गरिएको वाईफाई नेटवर्कलाई प्रयोगपछि फर्गेट अर्था त्यसलाई हटाउन सकिन्छ । यसले गर्दा सो नेटवर्कमा तपाईको डिभाइस भविष्यमा स्वतः कनेक्ट हुँदैन् ।

यी विषयहरुमा ध्यान दिएको खण्डमा तपाईँले चलाउने पब्लिक वाईफाई नेटवर्कबाट तपाईँको डिभाइस र डाटाहरु सुरक्षित हुन सक्दछन् ।

प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

Comments are closed.

Loading...