Technology Khabar ३१ श्रावण २०७७, शनिबार
काठमाडौं ।
नेपालमा कोभिड-९ को महामारी र संक्रमण फैलने डरले गरिएको देशव्यापी लकडाउन समाप्तिसँगै इन्टरनेट सेवामा टिकटकको दबाब देखिएको छ ।
पछिल्लो १ महिनाको अवधिमा टिकटकले नेपालको इन्टरनेट डाटा अत्यधिक र अस्वभाविकरुपमा खपत गरिरहेसँगै त्यसले अन्य अत्यावश्यक कामहरुमा प्रयोग हुने इन्टरनेट ब्याण्डविथ नै प्रभावित गर्नसक्ने आशंका व्यक्त गरिएको छ।
इन्टरनेट सेवा प्रदायकहरुले पछिल्लो दिनमा अन्तराष्ट्रिय स्तरमा चर्चा पाएसँग टिकटकको प्रयोग नेपालमा ब्यापक बढिरहेको अनुभव गरिएको बताएका छन् ।
ठूला इन्टरनेट सेवा प्रदायकहरुले टिकटकको प्रयोग र ब्याण्डविथको खपत बढेसँगै त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल समेत शुरु गरेका छन् ।
इन्टरनेट सेवा प्रदायकहरुले टिकटकले इन्टरनेट ब्याण्डविथको करिब १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको हिस्सा लिईरहेको र त्यसको हिस्सा निरन्तर बढिरहेको बताएका छन् ।
नेपालमा हाल टिकटकले मात्रै अनुमानितरुपमा करिब ११० जीबीपिएस डाटा मासिक खपत गरिरहेको अनुमान गरिएको छ ।
‘भारतमा टिकटक प्रतिबन्ध र अमेरिकामा पनि टिकटक बन्द हुने घोषणापछि नेपालमा टिकटकको प्रयोग र ब्याण्डविथको खपत ह्वात्तै बढेको छ,’ सुबिसु केबलनेट प्रालिका प्राविधिक प्रमुख रामकृष्ण परियारले भने ।
उनले टिकटकले हाल खासै ठूलो समस्या नपारेपनि भविश्यमा यसले थप ब्याण्डविथ खपत गर्ने र त्यसले सबै प्रभावित हुने आशंका रहेको बताए ।
पछिल्लो दिनमा भारतमा टिकटक प्रतिबन्ध लागेसँगै भारतको माध्यमबाट आउने ब्याण्डविथ रोकिएको र अन्तराष्ट्रिय ब्याण्डविथ नै प्रयोग भईरहेको छ ।
अर्का एक इन्टरनेट सेवा प्रदायकका प्राविधिक तथा उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा नेपालमा टिकटक प्रयोग कम गराउने उपाय खोजिरहेको बताए ।
‘सबै इन्टरनेट सेवा प्रदायकहरु चिन्तामा छन् र अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत पछिल्लो महिना बढिरहेको छ । यो सबै टिकटकको प्रयोग बढेसँगै भएको हो,’ उनले टेक्नोलोजीखबरसँग भने ।
यसको लागि टिकटकको अनावश्यक प्रयोगलाई रोक्न र आाईपी एड्रेस ट्र्याक गरेर ब्लक गर्नुको उपाय नदेखिएको र त्यसबारेमा समेत छलफल भईरहेको जानकारी दिए ।
‘हामीले राखेको यहाँको लोकर सर्भरको क्यासले हाल काम गरिरहेको छैन् । यसको कारण टिकटकले एचटिटिपिएसमा डाटा राख्नु हो,’ उनले भने ।
उनले अनावश्यकरुपमा टिकटकको लागि मात्रै अन्तर्राष्ट्रिय ब्याण्डविथ किन्नुपरेको र यसको लागि करोडौं रुपैयाँ विदेश गईरहेको बताए ।
यसअघि नेपालमा एचटिटिपिमा आकामाईको सर्भरमा टिकटकको स्थानिय क्यास राखिने गरेकोमा पछिल्लो दिनमा टिकटकले एचटिटिपिएसमा डाटा राख्न थालेसँगै समस्या आएको हो ।
सुबिसुका प्राविधिक प्रमुख परियारले समेत टिकटकको लोकल क्यास सर्भरमा समस्या आउँदा अधिक ब्याण्डविथ ल्याउनुपरेको पुष्टि गरे ।
‘टिकटकको ट्राफिक अस्वभाविक बढेकोछ, भारतले पनि रुट फ्ल्याटरिङ्ग गरिदिने गरेको छ, जसले सबैलाई समस्या भएको हो,’ सुबिसुका प्राविधिक प्रमुख परियारले भने ।
त्यसैगरि इन्टरनेट सेवा प्रदायक संस्था आइस्पानका कोषाध्यक्ष तथा इष्टलिंक टेक्नोलोजी प्रालिका चीफ अपरेटिङ्ग अफिसर पुष्कर बडालले समेत टिकटकले गर्दा समस्या देखिएको र सबै सेवा प्रदायकहरु छलफलमा रहेको बताए ।
‘टिकटकले कति ब्याण्डविथ लिएको छ भनेर हिसाब किताब गर्दैछौं, केहि दिनमा अनुमानित डाटा आउन सक्दछ,’ उनले भने ।
बडालले नजिकको सर्भर भारत भएपनि भारमा प्रतिबन्ध लागेसँगै निकै दबाब र तनाब भएको भन्दै ब्याण्डविथको खपत पनि टिकटकले बढाईरहेको स्पष्ट पारे ।
नेपालमा स्थानिय तहमा करिब २ टेराबाईट ब्याण्डविथ प्रयोग हुने गरेको छ अन्तर्राष्ट्रिय ब्याण्डविथ करिब ५०० जीबीपिएसदेखि ६०० जीबीपिएससम्म भित्रने गरेको अनुमान गरिएको छ।
टिकटकको ब्याण्डविथ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्रमुख इन्टरनेट सेवा प्रदायकहरुबिच छलफल चलिरहेकोछ ।
प्रकाशित: ३१ श्रावण २०७७, शनिबार