नेपाल टेलिकमको आम्दानी गत आर्थिक वर्षमा २ अर्ब ३४ करोड रुपैयाँले घट्यो

Technology Khabar ३० श्रावण २०७७, शुक्रबार

नेपाल टेलिकमको आम्दानी गत आर्थिक वर्षमा २ अर्ब ३४ करोड रुपैयाँले घट्यो
फाइल

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को कुल आम्दानी गत आर्थिक वर्ष २०७६/७७ को वित्तिय प्रतिवेदनअनुसार २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँले घटेको छ ।

सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक वित्तीय प्रतिवेदन अनुसार टेलिकमको आम्दानी ४१ अर्ब ४९ करोड ४७ लाख ६७ हजार ८११ रुपैयाँ भएको हो।

अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ४३ अर्ब ८३ करोड ९० लाख ३८ हजार ०१६ रुपैयाँ रहेको थियो ।

हाल सार्वजनिक गरिएको प्रतिवेदन लेखापरीक्षण नगरिएको हो । जसमा केहि रकम हेरफेर हुनसक्दछ।

कोभिड-१९ को संक्रमण र महामारीसँगै सरकारले गरेको लकडाउन र अन्तराष्ट्रिय स्तरमा देखिएको संकटले टेलिकमको आम्दानीमा  असर पारेको देखिएको छ ।

गत बैशाखदेखि असारसम्मको त्रैमासिकमा टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपैयाँ मात्रै कमाएको छ । अघिल्लो वर्ष २०७५/७६ को सोही अवधिमा टेलिकमको आम्दानी ११ अर्ब ३६ करोड रुपियाँ थियो ।

सो त्रैमासमा मात्रै कम्पनीले सबैभन्दा धेरै आम्दानी गुमाएको देखिन्छ । प्रतिवेदनअनुसार सो त्रैमासमा २ अर्ब १४ करोड आम्दानी घटेको छ ।

टेलिकमले सेवा बिक्री गरेबापत गत आवमा ३४ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको वित्तिय प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा यस्तो सेवा बिक्रीबापतको रकम ३६ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ थियो ।

आम्दानी घटेसँगै कम्पनीको नाफा पनि कम भएको छ । कम्पनीले गत आवमा ८ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा टेलिकमको नाफा ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

कोभिड-१९ को संक्रमण र महामारी विश्वभर परेसँगै नेपाल टेलिकमको आम्दानी र नाफा संकुचित हुने अनुमान गरिएको थियो । अन्तराष्ट्रिय बजारमा समेत मोबाइल अपरेटरहरुको नाफा यो वर्ष घट्ने अनुमान गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार

ताजा समाचार