दूरसञ्चार प्राधिकरणले भन्यो- कोभिड १९ को संक्रमण बढ्यो, अत्यावश्यक सेवा मात्र उपलब्ध हुनेछ

Technology Khabar २५ श्रावण २०७७, आईतवार

दूरसञ्चार प्राधिकरणले भन्यो- कोभिड १९ को संक्रमण बढ्यो, अत्यावश्यक सेवा मात्र उपलब्ध हुनेछ
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले कोभिड-१९ संक्रमणको जोखिम बढेसँगै सेवाग्राहीहरुलाई अनलाइन सेवा लिन भनेको छ ।

प्राधिकरणले आईतवारदेखि कार्यालयबाट अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु प्रदान गर्न बन्द गरिएको सूचना टाँस गर्दै सेवाग्राहीहरुलाई अनलाइन सुबिधा लिन भनेको हो ।

पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमितको संख्या बढेको भन्दै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेक अन्य सेवा नदिने र सोहि अनुसार सर्तकता अपनाउन भनेसँगै प्राधिकरणले समेत अत्यावश्यक सेवा मात्र उपलब्ध गराउने भएको हो ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले अत्यावश्यक काम र निश्चित सेवाग्राहीबाहेक अन्यलाई प्रवेश रोकिएको जानकारी दिए ।

‘दैनिकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको हुँदा सर्तकता अपनाउँदै अत्यावश्यक सेवा मात्र दिन लागिएको हो । अत्यावश्यक सेवाको लागि समेत पहिले नै सम्पर्क गरेर आउनुपर्नेछ,’ प्रवक्ता अर्यालले भने ।

उनले दूरसञ्चार प्राधिकरणको अधिकांश सेवाहरु अनलाइन नै उपलब्ध हुने र कार्यालय अटोमेशनमा रहेको हुँदा सेवाग्राहीले अनावश्यकरुपमा प्राधिकरण आईरहनु नपर्ने बताए ।

प्राधिकरणले अर्को सूचना नआएसम्मका लागि हाल अति आवश्यक सेवा मात्र उपलब्ध गराउने जनाएको छ ।

प्राधिकरणले आईतवारदेखि मुख्य गेट नै बन्द गरेर कार्यालय प्रवेशमा कडाई गरेको छ ।

प्रकाशित: २५ श्रावण २०७७, आईतवार

Comments are closed.

Loading...