एक वर्ष बितिसक्दा पनि संचालनमा आएन् एमडिएमएस, यो आर्थिक वर्ष संचालनमा आउला त ?

Technology Khabar २५ श्रावण २०७७, आईतवार

एक वर्ष बितिसक्दा पनि संचालनमा आएन् एमडिएमएस, यो आर्थिक वर्ष संचालनमा आउला त ?
Classic Tech

गत आर्थिक वर्षभित्रै संचालनमा आउनुपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को काम १ वर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन् ।

पछिल्लो समय निकै चर्चामा परेको एमडिएमएसको काम पाएको कम्पनी न्यूमेरा(एम) एसडीएन.बिएचडी. मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि इण्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरले अझै सिस्टमको संचालनको काम शुरु गरेको छैन् ।

नेपाल दूरसञ्चार प्राधिकरण र सरकारले समेत उच्च प्राथमिकतामा राखेर अघिल्लो आर्थिक वर्षभित्रै एमडिएमएस संचालन गर्ने र त्यसले अबैध मोबाईलको कारोबार रोकिने दाबी गर्दै आएका थिए भने सोहि आधारमा सरकारले गत वर्षदेखि नै बजेटमार्फत मोबाइलमा भ्याट र अन्तःशुल्क रकम ह्वात्तै बढाएको थियो ।

तर गएको वर्ष नै आउनुपर्ने एमडिएमएस संचालनको लागि कम्पनी छनौट भएको १ वर्षको अवधि बितिसक्दा पनि आउन सकेको छैन् ।

सो सिस्टम आउन नसक्नुमा प्राधिकरणले सरकारले दिने भनेको जग्गा नपाउनु पनि एक कारण भएको र त्यसपछि कम्पनीले समयमा नै सामान ल्याउन एलसी खोल्न नसक्नु अर्को कारण भएको बताएको छ।

अझ त्यसमाथि सरकारले नै कोभिड-१९ महामारी फैलनबाट रोक्न लकडाउन गरेपछि झन यसको संचालन अनिश्चित भएको हो।

यसअघि प्राधिकरणका अध्यक्षले नै गएको जनवरी भित्रै संचालन गर्ने तयारी रहेको बताईरहेको बेला सो सिस्टमको लागि उपकरणहरु ल्याउन एलसीको प्रकृयामा ढिलाई हुँदा एमडिएमएस संचालन हुन सकेको थिएन त्यसपछि कम्पनीलाई गत मार्च महिनासम्मको अवधि थप गरिएको थियो ।

सो अवधिभित्र एमडिएमएसको सामाग्री आयातको लागि एलसी खोल्ने प्रकृया शुरु भएको थियो भने सरकारले दिने भनेको खुमलटारको जग्गा नआउने निश्चित जस्तै भएपछि सो सिस्टम राख्न प्राधिकरणले त्यसपछि मात्रै न्यूमेरा(एम) एसडीएन. बिएचडी. मलेशिया जेभीलाई पत्र पठाएको थियो ।

प्राधिकरणलाई कम्पनीले गएको फरवरीमा भन्सारमा आफ्नो सामाग्री आउने तर लकडाउनले गर्दा काम रोकिएको जानकारी दिएको थियो । प्राधिकरणकै भनाई अनुसार कम्पनीको सामाग्री भन्सारमा आएको ६ महिना भन्दा बढि हुँदा पनि काम शुरु हुन सकेको छैन् ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले एमडिएमएसको सामान भन्सार कार्यालयमा आएको र परामर्शदाताले ढिलो प्रतिवेदन पठाएको जानकारी दिए ।

‘सामान आएको निकै महिना भईसके पनि परामर्शदाताले प्रतिवेदन दिन ढिलो गरेपछि काम रोकिएको हो, अब छिटै शुरु हुन्छ,’ प्रवक्ता अर्यालले भने ।

यसका साथै प्राधिकरणले कम्पनीलाई चावहिलमा सो सिस्टम राख्न जग्गा दिईसकेको छ । परामर्शदाताले प्रतिवेदन दिएसँगै कम्पनीले सामाग्री छुटाउने तयारी गरेको छ भने सो सिस्टम चाबहिलमा नै राखिने निश्चित भएको छ ।

कम्पनीको सामाग्रीहरुको बारेमा परामर्शदाताले प्रतिवेदन पठाएसँगै बाटो खुलेको हो ।

कम्पनीले नेपालमा पहिलो चरणमा ल्याएका सामाग्रीहरुमा डाटाबेस सर्भर, एप्लिकेसन सर्भर, डाटा सेन्टर मनिटरिङ्ग, विभिन्न प्रकारका स्वीचहरु, राउटरहरु, फायरवाल र आईपीएस लगायतका उपकरणहरु सहित ती सामाग्रीहरु राखिने र्याकहरु रहेका छन् ।कम्पनीले हाल १४ करोड रुपैयाँ भन्दा माथिका उपकरणहरु नेपालमा ल्याईसकेको जानकारी दिएको छ ।

तर ती सामाग्रीहरु एलसी नखोलिएका कारण हालसम्म भन्सारबाट नछुटेको प्राधिकरणले जानकारी दियो ।

‘कम्पनीको विभिन्न कागतपत्रहरु नमिल्दा अझै एलसी खुल्न सकेको छैन र सामाग्रीहरु भन्सारबाट छुट्न सकेका छैनन्,’ प्रवक्ता अर्यालले भने ।

उनले कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई सेवा संचालन शुरु भएको तीन महिनाभित्र एमडिएमएस शुरु गर्न यसअघि नै पत्र दिईएको र हवाई सेवा संचालनमा आएसँगै सिस्टम संचालन हुने बताए।

कम्पनीले यसअघि सफ्टवेयरको निर्माण गरेर त्यसको प्रमाणिकरणको लागि प्राधिकरणलाई जानकारी दिएको थियो । सोही सफ्टवेयरको आधारमा एमडिएमएसको प्रणाली संचालन हुनेछ ।

सरकारले यहि भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय हवाई सेवा खोल्ने यसअघि नै निर्णय गरिसकेको छ तर पछिल्लो दिनमा देशभर कोभिड-१९ को संक्रमण निरन्तर बढिरहेको हुँदा सेवा संचालनमा आउने/नआउने स्पष्ट छैन् ।

प्राधिकरणले यो आर्थिक वर्षको बजेटमा समेत मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम स्थापना गर्नका लागि ८० करोड रुपैयाँ बिनियोजन गरेकोछ । जसमा नेशनल ईआआर सिस्टम स्थापना गर्न पहिलो चौमासिकमा संस्था छनौट गर्ने र काम शुरु गर्न २० करोड रुपैयाँ छुट्याएको छ ।

यो पनि हेर्नुस्-

एमडिएमएसको जिम्मा पाएको कम्पनीलाई लकडाउनको ‘चिठ्ठा’, अझै शुरु भएन् तर थपियो समय

प्रकाशित: २५ श्रावण २०७७, आईतवार

Comments are closed.

Loading...