Technology Khabar २३ श्रावण २०७७, शुक्रबार
काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकामा भिडभाड कम गर्नका लागि केहि दिनअघि जोर विजोर नम्बरअनुसार सवारी साधन संचालन गर्ने निर्णय गरिसकेको छ । यहि कारणले गर्दा नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा कुनै अवरोध हुन नदिन भन्दै सहजीकरण गरिदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ।
अत्यावश्यक सेवा अन्तरगत पर्ने दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले शुक्रबार गृह मन्त्रालयलाई पत्राचार गर्दै दूरसञ्चार क्षेत्रमा प्रयोग हुने सवारी साधन तथा कर्मचारीहरुको आवागमन निर्वाधरुपमा सूचारु गरिदिन आग्रह गरेको हो ।
प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनको अनुमतिपत्र प्राप्त मोबाइल अपरेटर कम्पनी तथा इन्टरनेट सेवा प्रदायकका सवारी साधन र कर्मचारीको हकमा कम्पनीको परिचयपत्रको आधारमा आवतजावतमा सहजीकरण गरिदिन भनेको हो ।
‘दूरसञ्चार सेवा अत्यावश्यक सेवाभित्र पर्ने र यस्तो विषयम परिस्थितीमा दूरसञ्चार सेवा चौबीसै घण्टा सातै दिन सुचारु राख्न अपरिहार्य हुन्छ,’ पत्रमा लेखिएको छ ।
पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले विभिन्न सुरक्षाका उपायहरु अपनाईरहेको छ । सरकारले अत्यावश्यक बाहेकका कार्यहरु बन्द गर्ने निर्णय गरेको छ भने मानिसहरुलाई आफैं सजग सचेत हुन भनिरहेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु सहितको जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु अत्यावश्यकबाहेकलाई नियन्त्रित गर्ने निर्णय गरेको छ।
यसमा जिल्ला प्रशासन कार्यालयहरुले आफू मातहतका काम कारबाहीका साथै जिल्ला भित्रको गतिबिधिलाई समेत नियन्त्रण गर्ने निर्णय गरेका छन् । जसअन्तरगत भिडभाड नियन्त्रण, मास्कको अनिवार्य प्रयोग र स्यानिटाइजरको प्रयोगलगायत छन् ।
प्रकाशित: २३ श्रावण २०७७, शुक्रबार